धरान : धरानमा साहित्य उत्सव सम्पन्न गरिएको छ । शनिबार एक कार्यक्रमबीच कलरव धरानले आयोजना गरेको साहित्य उत्सव सम्पन्न भएको हो ।
विभिन्न कार्यक्रम आयोजना गर्दै साहित्य उत्सव समापन गरिएको कलरव धरानका सुदीप पाख्रिनले जानकारी दिए । उनका अनुसार उद्घाटन सत्रमा रण काफ्लेद्वारा लिखित नियात्रा सङ्ग्रह ‘मत्स्यकन्याको मुलुकमा’ विमोचन गरियो ।
भारतको आसाम निवासी, नेपाली भाषी काफ्लेले नियात्रा सङ्ग्रहमा ३४ वटा शीर्षक समावेश गरेका छन् ।
विमोचन कार्यक्रममा वरिष्ठ भाषाविद प्रा.डा. टंकप्रसाद न्यौपाने प्रमुख अतिथि थिए । उनले कार्यक्रममा बोल्दै आफूले भारत निवासीहरूलाई नेपालीका साहित्य दूतका रूपमा सम्झिने गरेको बताए ।
‘राजनीति भनेको विखण्डन हो, यसले टुक्र्याउँछ । तर, साहित्यले जहिल्यैपनि सम्बन्ध जोडेकै हुन्छ । आज नेपाल र भारतका साहित्यकारको सम्बन्ध साहित्यले नै जोडेको छ,’ उनले भने, ‘नेपाली भन्ने कुरा नेपालको मात्रै होइन, नेपाली लिपि कुनै समुदायको मात्रै होइन । यो अन्तराष्ट्रिय लिपि हो ।’
लिपिका सम्बन्धमा विभिन्न झगडा भएपनि भारतमा बसेर पनि नेपाली साहित्य लेखिरहेकाहरूले नेपाली साहित्यको इतिहासमा दस्तावेज थप्ने काम गरेको न्यौपानेको भनाइ छ ।
उक्त पुस्तकमाथि समीक्षक डा. गोपिकृष्ण खतिवडाले आफ्ना विचार प्रस्तुत गरेका थिए भने इजा प्रकाशनकी संस्थापक मन्जुला तामाङ र माझी उत्थान संघकी अध्यक्ष चिनीमाया माझीलगायतले बोलेका थिए ।
साहित्य उत्सवको दोस्रो कार्यक्रम सिने संवाद रहेको थियो । तर, कलाकार तुलसी घिमिरेको अनुपस्थितिका कारण उक्त कार्यक्रम भने हुन नसकेको सहजकर्ता इन्दु नेपाल योञ्जनले बताए ।
तेस्रो चरणको कार्यक्रममा प्रतिनिधि कविता वाचन रहेको थियो । कविहरू रोशन परियार, याक्दुहाङ धीरज, विशाल नाल्बो, विवेक विवश रेग्मी, सविता फागो र समीक्षा छिलिङ राईले एक–एक वटा कविता वाचन गरेका थिए ।
यसैगरी चौथो चरणको कार्यक्रम काङमाङ नरेश राईको निबन्ध सङ्ग्रह ‘पानी पतिया’माथि विमर्श कार्यक्रम आयोजना गरियो ।
पत्रकार भोजराज श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा उपप्राध्यापक राजेश विद्रोही र डा. अस्मिता विष्ट वक्ता रहेका थिए भने लेखक नरेशले प्रश्नहरूको जवाफ दिए ।
त्यससँगै पाँचौ कार्यक्रम समकालीन कविता विमर्श आयोजना गरियो । कवि पराजित पोमुले सहजीकरण गरेको कार्यक्रममा डा. तुलसी गौतम वक्ता थिए ।
यसैगरी कवि जुनु रानाको कविता कृति ‘रातो नदी’ माथि विमर्श कार्यक्रम आयोजना भयो । अध्येता चेवन राईले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ कवि मनु मञ्जिल र सीमा आभास वक्ता रहेका थिए ।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ प्रमुख अतिथि थिए । उनले आफू साहित्य धेरै नपढेपनि रूचिको विषय रहेको बताए ।
साथै, कार्यक्रममा कलाकार महेन्द्र राईद्धारा निर्मित विभिन्न चित्रहरूसमेत प्रदर्शन गरिएको थियो ।
Discussion about this post