इटहरी : इटहरी लेडी जेसीजले काव्य सन्ध्या कार्यक्रमको आयोजना गर्दै जेसीज सप्ताह समापन गरेको छ । शनिबार संगीत साधना प्रतिष्ठानको सभाहलमा २११ औँ भानुजयन्तीको अवसर पार्दै इटहरी लेडी जेसीजले काव्य सन्ध्या कार्यक्रममार्फत सप्ताह कार्यक्रम समापन गरेको हो ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कवि कुन्ता शर्मालाई सम्मान गरिएको थियो । साथै, कविहरूले कविता वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राईसहित इटहरी लेडी जेसीजकी अध्यक्ष इन्दिरा काफ्लेले वरिष्ठ कवि शर्मालाई नगद दस हजारसहित सम्मान गरे । नेपाली वाङ्मय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको र महिलाहरूकी उत्प्रेरणाकी स्रोत रहेको भन्दै शर्मालाई सम्मान गरिएको हो ।
साथै, कार्यक्रममा कविहरू मनु मञ्जिल, देवान किराती, टीका आत्रेय, हेमन यात्री, प्रज्वल पराजुली, शुभलक्ष्मी लम्साल, रमेश सायन, युवराज काफ्ले, शकुन्तला मञ्जरी, विवेक विवश रेग्मी, किरण शिवा, अञ्जना पोखरेलले कविता वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिसा माजिक विकास मन्त्री राईले देशमा आम नागरिकले आफ्नो अधिकार खोज्नुपर्ने बताए । उनले यसअघि मुलुक अस्थिरतातर्फ उन्मुख भएपनि अब स्थिर हुने विश्वास व्यक्त गरे ।
सम्मानित व्यक्तित्व वरिष्ठ कवि शर्माले महिलाहरूको शब्दकोशमा थकाइ भन्ने शब्द नै नहुने बताइन् । आम मानिसले आफ्नो अधिकार खोज्ने क्रममा अरुको अधिकार हनन गर्न नहुने उनले बताइन् ।
‘कसैलाई हेप्नुपनि हुँदैन, कसैबाट हेपिनुपनि हुँदैन । स्वतन्त्रताको परिभाषा उदण्ड होइन,’ उनले भनिन्, ‘हामी कतिपय महिलाहरूले पुरुषहरूको दिनहराम गरिदिएका छौँ । महिलाहरू उदण्ड बन्दै गएको देख्दा चिन्ता लाग्छ, उदण्ड हुनुहुँदैन ।’
उनले मौन बस्न सक्नुपनि ठूलो कुरा रहेको बताइन् । आफ्नो ‘पोथी बास्नु हुँदैन’कविता जहीँपनि सुनाउन आग्रह गरिने भएपनि अब भने त्यो कविता अभिलेख गरिनुपर्ने उनको भनाइ छ ।
‘यो कविता जति पपुलर हुन्छ, त्यति दिक्क लाग्छ । अब त यो कविता अभिलेखमा जानुपर्ने हो भन्ने लाग्छ,’ शर्माले थपिन् ।
कार्यक्रममा जेसीजकी अध्यक्ष इन्दिरा काफ्लेले सप्ताह कार्यक्रमभरी विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको बताइन् । उनले सप्ताह कार्यक्रभरी सहयोग गर्नेहरूलाई धन्यवादसमेत ज्ञापन गरिन् । उनका अनुसार सप्ताहको पहिलो दिन असार २२ गते इटहरीको सोल्टी वेष्ट्रेनमा नेपाल जेसीजका संस्थापक अध्यक्ष भेषबहादुर थापालाई सम्मान गरिएको थियो ।
साथै, अर्थ तथा परराष्ट्र नीति र यसको प्रभावबारे विमर्श कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा डा. मीनेन्द्र रिजाल र डा. विमला पौडेल वक्ता थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
यसैगरी दोस्रो कार्यक्रम राष्ट्रिय माविमा करियर काउन्सिलिङ, तेस्रो कार्यक्रम कविर माविमा प्यासेन्ड बेड हस्तान्तरण, त्यसैगरी चौथो कार्यक्रम इटहरीकै मनमोहन आधारभूत विद्यालयमा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना, पाँचौ कार्यक्रम इटहरी १५ पडरिया गाउँमा स्वास्थ्य शिविर र छैटौँ कार्यक्रम कोसी कलेजमा बिजनेश आइडिया सेयरिङ आयोजना गरिएको महासचिव लक्ष्मी बराल गौतमले जानकारी दिइन् ।
Discussion about this post