मोरङ : मोरङको रंगेलीमा तीव्र गतिमा रहेको स्कुल बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ ।
विद्यार्थी लिनका लागि जाँदै गरेको विराटनगरस्थित अरनिको स्कुलको बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार को १ क १७०० नम्बरको बस विद्यार्थी लिनलाई विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको थियो ।
बसले रंगेली नगरपालिका–२ स्थित (आज) आइतबार बिहान ९ः४५ बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले जानकारी दिए ।
प्रहरीले बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।
बसको तीव्र गति र चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post