भोजपुर : कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई राहत वितरण गरेको छ । यही साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरेको हो ।
बाढीले बगाउँदा इर्खुवाखोला जलविद्युत आयोजनामा काम गर्ने मजदुर श्यामकुमार थारू र रमेश थारूको मृत्यु भएको थियो । प्रदेश सरकारको तर्फबाट तत्काललाई मृतक परिवारलाई एक–एक लाख हस्तान्तरण गरिएको हो ।
त्यस्तै बाढीपीडित पाँच परिवारलाई चालम, दाल, तेल, नुन, कम्बल र त्रिपाल वितरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले जानकारी दिनुभयो ।
यहाँका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका पीडित परिवारको पूर्ण विवरण आएपछि थप राहत वितरण गरिने उहाँको भनाइ छ ।
“प्रदेश सरकारको तर्फबाट घटनास्थलको स्थलगत रूपमा अनुगमन गरेर पीडितलाई राहत वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “बाढीका कारण मानवीयसँगै निकै ठूलो भौतिक क्षति भएको छ । तत्कालीन रूपमा मृतक परिवार र अन्य पाँच परिवारलाई राहत वितरण गरेका छौँ । थप क्षतिको विवरण आएपछि अन्य परिवारलाई पनि वितरण गछौँ ।”
आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लव अधिकारीसहितको टोलीले साल्पासिलिछो गाउँपालिकाको फेदी भन्ने स्थानसम्म पुगेर बाढीले पुर्याएको क्षतिको विषयमा जानकारी लिएको हो । कोशी प्रदेश सरकारले यथाशीघ्र क्षतिको पूर्ण विवरण मन्त्रालयमा पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
बाढीबाट क्षतिग्रस्थ झोलुङ्गे पुल र मोटरेबल पुल पुनःनिर्माण, मर्मत तथा संरक्षणका लागि तत्काल आवश्यक पक्रिया अघि बढाउने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो । प्रदेश सरकारले पीडित परिवारलाई सहज रूपमा घरदैलोमा पुगेर राहत वितरणका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर काम अघि बढाएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।














Discussion about this post