मोरङ : मोरङको रंगेलीबाट प्रहरीले १६ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
तस्करी गरी भारतबाट ल्याएर घरका कोठा भाडामा लिई भण्डारण गरेर राखेको अवस्थामा विभिन्न ब्राण्डका चप्पल बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनसार भण्डारणस्थलमा बिहीबार (आज) दिउँसो छापा हान्दा अवैध चप्पल फेला परेको हो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले अलगअलग स्थानका भण्डारणस्थलमा छापा हानेको थियो ।
डीएसपी बस्नेतका अनुसार रंगेली नगरपालिका–३ आमतोला र रंगेली–८ दर्वेसाबाट चप्पल बरामद गरिएको हो । आमतोलास्थित नजिया खातुनको घरको कोठामा ११ लाख मूल्य बराबरको १६ बोरा र दर्वेसास्थित यज्ञ अग्रवालको घरको कोठामा ५ लाख बराबरको ६ बोरा चप्पल भेटिएको उनले जानकारी दिए ।
उनका अनुसार एउटा बोरामा ३ सयदेखि ६ सय जोडीसम्म चप्पल भेटिएका छन् । जम्मा ८ हजार जोडी चप्पल बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अवैध धन्दा चलाइरहेका व्यक्तिले खातुन र अग्रवालको घरको कोठा भाडामा लिएर चप्पल तस्करी गरी ल्याउँदै भण्डारण गरेर राख्ने गरेको खुलेको छ । प्रहरीले यसबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ ।












Discussion about this post