विराटनगर : मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएको छ ।
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ की २५ वर्षीया सवना खातुनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
खातुनलाई प्रसूतिका लागि गत बिहीबार साँझ भर्ना गरिएको थियो । अस्पतालका अनुसार शुक्रबार दिउँसो भ्याकुमको सहायताले प्रसूति गराइयो ।
सवनाले छोरा जन्माएकी थिइन् । तर, आमा र बच्चाको स्वास्थ्य अवस्था बिग्रिएको भनेर शुक्रबार साँझ ५ बजेतिर आईसीयूमा भर्ना गरिएको थियो । केहीबेरमै आमाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उपचाररत शिशुको स्वास्थ्यमा भने सुधार हुँदैछ ।
चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै परिवारका सदस्य र आफन्तले होहल्ला र नाराबाजी गर्न थालेपछि अस्पतालको अवस्था तनावपूर्ण बनेको छ ।
पीडित परिवारले भने लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, बच्चाको पालनपोषण गर्नुपर्ने र घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्दै होहल्ला गरेका छन् ।
अस्पतालमा तोडफोड हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मुख्य गेट बन्द गरिएको छ । मुख्य गेटमा ताला लगाएर आवतजावतमा रोक लगाइएको हो । भेला भएकाहरुले बाहिरैबाट नाराबाजी गरिरहेका छन् ।
कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालका संयोजक सुनील देवले उपचारमा लापरबाही नभएको बताए । ‘भ्याकुमबाट प्रसूति गराइएको थियो । एक्कासि मुटुमा समस्या आयो ।’ उनले भने ।
Discussion about this post