विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय अन्तरगत स्नातक तह चार वर्षे बीबीएस तह २०२४ व्याचदेखि लागू हुन लागेको नयाँ पाठ्यक्रमका सम्बन्धमा छलफल भएको छ ।
व्यवस्थापन संकायका डीन डा. सन्देशदास श्रेष्ठको अध्यक्षतामा विभिन्न कलेजका प्रतिनिधिहरूसँग आइतबार छलफल भएको हो ।
व्यवस्थापन संकायको सभाहलमा भएको छलफल कार्यक्रममा १४ वटा क्याम्पसका प्रतिनिधिहरू लगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।
नयाँ पाठ्यक्रमलाई प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको व्यवस्थापन संकायका अधिकृत विष्णु तिवारीले जानकारी दिए । नयाँ पाठ्यक्रमलाई प्रभावकारी कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने लगायतका विषयमा विषयविज्ञसहितको टोलीमा छलफल भएको उनले बताए ।
छलफल कार्यक्रममा कलेजका तर्फबाट सम्बन्धित विषय शिक्षकहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न कलेजबाट सहभागी प्रतिनिधिहरूले मन्तव्य राखेका थिए । उनीहरूले यस्तो किसिमको छलफल आगामी दिनमा पनि आवश्यक रहेको र यो छलफल एकदम उपलब्धिमुलक भएको बताएका थिए ।
डीन डा. श्रेष्ठले यस्तो किसिमका कार्यक्रम आगामी दिनमा पनि सञ्चालन हुने बताए । उनले नयाँ पाठ्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सबैले भूमिका खेल्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा व्यवस्थापन संकायका सह–डीन सोनिला शाक्य, व्यवस्थापन तथा वाणिज्य प्र्रशासन विषय समिति अध्यक्ष प्रा.डा. सदय हमाल, विषय समिति सदस्यहरू प्रा. मोहन बहादुर बस्नेत, प्रा. रमाकान्त दास, शैलेन्द्र शिवाकोटी, युवराज धिताललगायतको समेत उपस्थिति रहेको थियो ।
Discussion about this post