इटहरी : इटहरीका पाँच राजनीतिक दलहरूले सार्वजनिक सुनुवाइको माग राखेका छन् ।
राजनीतिक दलहरू नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिया प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी र नागरिक मुक्ति पार्टीले सार्वजनिक सुनुवाइको माग राखेका हुन् ।
बुधबार पत्रकार सम्मेलन गरी इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको कार्यशैली र ननगरभित्र भएको बेथितिविरुद्ध सार्वजनिक सुनुवाइको माग राखिएको हो ।
विज्ञप्तिमा एमाले अध्यक्ष रुपेश बस्नेतसहित रास्वपा सभापति विष्णु बस्नेत, राप्रपा अध्यक्ष आकाशहाङ लिम्बू, नेकपा एकीकृत समाजवादी संयोजक गौरीमान परियार र नागरिक मुक्ति पार्टीका अध्यक्ष शेषकराम थान्दारले हस्ताक्षर गरेका छन् ।
एमाले इटहरी नगर अध्यक्ष बस्नेतले १५ बुँदामा आफ्ना माग राख्दै १५ दिनभित्र सार्वजनिक सुनुवाइ गर्न माग राखिएको बताए ।
आफूहरूको माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम गरिने उनले बताए ।
गत वर्षको उपभोक्ता समितिमार्फत निर्माण भएका योजनाहरूको भुक्तानी हालसम्म नदिएको, दैनिकजस्तो कर्मचारी अपारदर्शी ढंगले नियुक्ति गरेको, पालिकामा कार्यरत कर्मचारीहरूलाई तीन महिनादेखि तलव नदिएको, संघ र प्रदेश सरकारको सदनमा उठेको विद्युतीय बस खरिद, अस्पतालको सिटी स्क्यान मेसिन खरिद सम्बन्धबारे जानकारी दिनुपर्ने माग राखिएको छ ।
यसैगरी इटहरी १४ मा रहेको श्री शान्ति सिर्जना माध्यमिक विद्यालयमा ८० लाख भन्दा बढी भुक्तानी भएको र २२ महिनासम्म गुपचुप राखिएको, शिक्षा र स्वास्थ्यमा भएका नीतिगत भ्रष्टाचार, नगर प्रहरी दुरुपयोग, आवश्यकता भन्दा बढी इन्धन खर्च सम्बन्धलगायतबारे सार्वजनिक सुनुवाइ गर्नुपर्ने माग राखिएको छ ।
वर्षमा दुईपटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने भएपनि हालसम्म एकैपटक पनि सार्वजनिक सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
Discussion about this post