इटहरी : सुनसरीमा सरकारी कागजात कीर्ते गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् ।
सरकारी कागजात कीर्ते गरेको आरोपमा सुनसरीको देवानगञ्ज गाउँपालिका ७ का वडाध्यक्ष सूर्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनले कीर्ते गरेको कसुरमा सुनसरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँगै यादवलाई बुधबार सुनसरी पहरीले पक्राउ गरेको जनाएको छ ।
सोही ठाउँका सिताराम यादवले आफ्नै छोरा राम यादवको २०६५ साल जेठ १५ गते मृत्यु भएको भनी तत्कालीन गाविसको कार्यालयमा गएर झुट्टो विवरण पेस गरेका थिए ।
त्यसबेला उक्त कार्यालयका कर्मचारीले मृत्यु दर्ता प्रमाण पत्र बनाएर जिल्ला अदालत सुनसरीमा निवेदन साथ लगत कट्टाको लागि मृत्यु दर्ता प्रमाण पत्रसमेत पेस गरेका थिए ।
देवानगञ्ज ७ नं. वडा कार्यालय, सुनसरीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन सम्बन्धी कसूरमा सर्जमिन हुँदा वडाध्यक्ष सूर्यनारायण यादव समेतका व्यक्तिहरूले सितारामको छोरा राम यादवको मृत्यु भइसकेको सर्जमिन गरेका थिए ।
राम यादवको मृत्यु भएको भनेर उनीहरूले अदालतबाट तोकिएको १० दश वर्षको कैदको लगत कट्टा गराउने चेष्टा गरेको प्रहरीको दाबी छ ।
राम भन्ने रमानन्द यादव भने जबरजस्ती करणी र डाँका मुद्दामा पक्राउ परेर कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनलाई जिल्ला अदालतले २०७९ असार २९ गते १० वर्ष कैद हुने ठहर गरेको थियो ।
तर, सितारामले गरेको लिखित सम्बन्धी कसूरमा कारबाही गरी पाउँ भनी भोलानन्द यादवको जाहेरी परेको थियो ।
जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीमा अनुसन्धान गर्ने क्रममा राम भन्ने रामानन्द मेहताको सनाखत गराउँदा सिताराम यादवकै छोरा भएको प्रमाणित भएको थियो । वडाध्यक्ष यादव जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
Discussion about this post