इटहरी : स्वास्थ्य र शिक्षामा जबसम्म सर्वसाधारणको पहुँच स्थापित गर्न सकिदैँन, तबसम्म मानव अधिकारको प्रत्याभूति हुन नसक्ने इटहरीमा आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
उनीहरूले स्वास्थ्यमार्फत हरेक व्यक्तिलाई निरोगी बनाउन सकिने र शिक्षामार्फत सचेतना बढ्ने भएकाले मानवअधिकारको प्रत्याभूति हुने बताएका हुन् ।
‘अहिले समाजका धेरैजसो नागरिक असहिष्णु बन्दै गएका छन् । स–साना कुरामा झगडा गर्छन्, यसले मानव अधिकार र शान्ति प्राप्त हुँदैन,’ इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा बिहीबार मानवअधिकार तथा शान्ति समाज सुनसरी शाखाले आयोजना गरेको कार्यक्रममा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजका प्रमुख डाक्टर पशुपति चौधरीले भने ।
उनले मानव अधिकार र शान्ति भए मात्र विकासले गति लिने अनि हरेक नागरिकलाई सहजता हुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका उपसभापति नगेशचन्द्र राईले मानव अधिकार र शान्तिले हरेक नागरिकलाई समानता, स्वतन्त्रता र प्रतिष्ठाको अधिकार प्राप्त गर्ने बताए ।
नेपाल महिला संघ केन्द्रीय सदस्य गीता श्रेष्ठले कानुनी शासनको प्रत्याभूति गराउनु मानवअधिकार भएकाले गर्दा सबैले त्यसलाई आत्मसाथ गरेर अगाडि बढ्न सुल्झाइन् ।
कार्यक्रममा मानवअधिकार र शान्ति समाज सुनसरीले गरेका गतिविधिबारे समाजका उपाध्यक्ष रोवनराज कार्कीले प्रस्तुत गरेका थिए ।
सो क्रममा नेपाली कांग्रेसका सुबेक्छु देवान, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय पर्यवेक्षक लक्ष्मीनारायण मिश्र, सन्तोष रौनियार, नेपाल विद्यार्थी संघका प्रमोद भट्टराई, ओम गौतमलगायतले बोलेका थिए ।
यसैबीच, मानवअधिकार तथा शान्ति समाज सुनसरी नयाँ नेतृत्व समेत चयन भएको छ । जसमा रोवनराज कार्कीको अध्यक्षता नयाँ नेतृत्व चयन भएको हो । उद्घाटन सत्रको कार्यक्रम मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष डा. विकास साहको अध्यक्षतामा भएको थियो ।
Discussion about this post