इटहरी : यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यातायात सेवा र सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली डाक्टरसहित १७ जनालाई बुधबार नियन्त्रणमा लिइएको हो ।
सेवाग्राहीलाई दुःख दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता वेदराज फुयँलले जानकारी दिए ।
उनीद्धारा जारी विज्ञप्तिअनुसार यातायात व्यवस्था कार्यालय (सवारी) र सवारी तथा यातायात व्यवस्था कार्यालय इटहरी (सवारी चालक अनुमति पत्र) मा सेवाग्राहीलाई दुःख दिने गरेको र अनियमित कार्य गर्न गरेको गुनासोका आधारमा पक्राउ गरिएको उल्लेख छ ।
सेवाग्राहीको गुनासो बढेपछि उनकै नेतृत्वमा अनुगमनसमेत गरिएको थियो ।
पक्राउ पर्नेमा नक्कली डाक्टर, बिचौलिया र लेखापढी गर्ने गरेको खुलेको छ। यातायात कार्यालय इटहरीमा बिचौलियाको बिगबिगी हुँदा सर्वसाधारणले सहज सेवा पाउन नसकिरहेको गुनासो बढेको प्रशासनले जनाएको छ ।
नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालयमा राखेर प्रहरीले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी र इटहरी इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।
Discussion about this post