विराटनगर : विराटनगर महानगरपालिकाको समन्वयमा विकास व्यवस्थापन तथा व्यावसायिक प्रवद्र्धन सेवाकालीन प्रशिक्षण सम्पन्न भएको छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा एकमहिने तालिम बिहीबार सम्पन्न भएको हो । तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक सन्तलाल श्रेष्ठ र उपनिर्देशक हरिकृष्ण कोइरालाले सहजीकरण गरे ।
समापन कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीले प्रतिष्ठानले देशभरका स्थानीय पालिकाका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई तालिम दिने गरेको जानकारी दिए ।
उनले सुगममा मात्रै नभएर प्रतिष्ठानले दूरदराजमा समेत पुगेर तालिम दिने गरेको बताए । उनले तालिममा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । चौधरीले सकारात्मक सोचका साथ अगाडि बढेमा जनअपेक्षाअनुसारका कार्यसम्पादन हुने बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले एकमहिने तालिमले कर्मचारीहरूमा निखारता आउनुका साथै सकारात्मक सोचको समेत विकास भएको उल्लेख गरे । उनले छिटोछरितो रुपमा सेवा प्रवाह गर्न सके सेवाग्राही सन्तुष्ट हुने बताए ।
पराजुलीले तालिमले कर्मचारीहरुलाई सेवा प्रवाहमा छिटोछरितो र प्रभावकारी कार्यसम्पादनमा बल पुग्ने विचार राखे ।
सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले स्थानीय तहमा काम गर्नेले कर्मचारीमा एउटै मात्रै क्षेत्रको ज्ञान र अनुभव भएर मात्रै नहुने बताए ।
उनले सरकारी कार्यालयबाट हुने विभिन्न सेवा प्रवाहका विषयमा जानकारी हुनुपर्नेमा जोड दिए । एकमहिने तालिम कर्मचारीहरूको क्षमता विकासमा महत्वपूर्ण उपलब्धि भएको थपलियाको भनाइ थियो ।
Discussion about this post