मोरङ : मोरङका विभिन्न स्थानमा तीनजनाको शव फेला परेको छ । जिल्लाको कानेपोखरी, ग्रामथान गाउँपालिका र विराटनगर महानगरपालिकामा सोमबार (आज)तीन जनाको शव फेला परेको हो ।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीकाअनुसार वृद्धसहित दुई पुरुष र एक जना महिलाको शव भेटिएको हो ।
विराटनगरको सिंघीया खोलामा मृत फेला परेकी महिलाको पहिचान खुलेको छैन भने कानेपोखरी र ग्रामथानमा मृत भेटिएका दुवै पुरुषको पहिचान खुलिसकेको छ ।
कानेपोखरी–४ खोरियामा डाँस खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा पथरीशनिश्चरे–८ का ७५ वर्षीय लाखबहादुर राईको शव फेला परेको हो ।
यसैगरी ग्रामथान गाउँपालिका–६ का ३५ वर्षीय सत्यनारायण भगतको घर नजिकैको पैनीमा मृत फेला परेका हुन् । आइतबार घरबाट माछा मार्न निस्किएका उनको शव खोजी गर्ने क्रममा घरदेखि दुई सय मिटर दक्षिणमा भेटिएको हो ।
तीनवटै शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post