तरहरा : विजया दशमीको दिन इटहरी २० तरहरास्थित बजारमा सरसफाई गरिएको छ । वडा कार्यालय, लिवरल सोसाइटी र स्थानीय सामाजिक अगुवासहितले बजार आसपासका क्षेत्रमा सरसफाई गरेका हुन् ।
फोहोर उठाउने कम्पनीले दसैँको बहानामा फोहोर नउठाएको भन्दै आफूहरू जुटेर सरसफाई गरिएको वडाध्यक्ष मणिराम श्रेष्ठले बताए ।
उनले भने, ‘सचेत नागरिकको तर्फबाट सरसफाई गरी फोहोर व्यवस्थापन गर्दैछौँ । दसैँको समयमा बाहिरबाट तरहरा आउने आम मानिसले हेर्ने दृष्टिकोण सकारात्मक होस् भन्नका निम्ति पनि आज बिहानैदेखि सरसफाई गरिएको हो ।’
दसैँमा तरहरा आउनेहरूले यहाँको बजार त सुन्दर रहेछ भन्ने दृष्टिकोणबाट हेरुन् भन्ने पनि उदेश्य रहेको श्रेष्ठले बताए । यहाँ लाग्ने सोमबार र बिहीबारको हाटबजारबाट फोहोर भएपनि हालसम्म सरसफाई नहुँदा आफूहरू नै जुटेको उनको भनाइ छ ।
वडा सदस्य तनुज गुरुङ (सुरेश)ले फोहोरमैलारहित तरहरा देखियोस् भनेर सरसफाई गरिएको उनले बताए ।
‘यो सरसफाईका कारण तरहरामा पाहुना आउनेहरूले बजारमा फोहोर नदेखुन् भन्ने उदेश्य छ,’ उनले भने, ‘फोहोर उठाउने ट्याक्टर अरू तीन दिन नआउने हुँदा फोहोरहरू घरमै राखिदिनुहोला । ट्याक्टर आएपछि मात्रै फोहोर बाहिर निकाल्न पनि आग्रह गर्दछु ।’
उनले दसैँको समयमा बिदा भएकाले फोहोर संकलन गर्न ट्याक्टर नआउने हुँदा बजार तथा टोल क्षेत्रमा फोहोर नगर्न पनि आग्रह गरे ।
उक्त सरसफाई कार्यक्रममा तरहराका जेष्ठ नागरिक मछिन्द्र खवास, कांग्रेस नेताद्धय नगेशचन्द्र राई, सुबेक्छु देवान, स्थानीय युवाहरू यज्ञ खत्री, भक्तबहादुर पुरी, सूर्य प्रधान, हिमांशु विश्वकर्मा, सुशान्त पुरी, रोज देवान, लगायत खटिएका थिए ।
Discussion about this post