इटहरी : नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभाका सदस्य कृष्णप्रसाद सिटौलाले सञ्चार जगत कांग्रेसको ऐना रहेको बताएका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेश सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनबाट निर्वाचित पत्रकारहरूलाई सम्मान कार्यक्रममा बोल्दै नेता सिटौलाले सञ्चार जगत कांग्रेसका लागि ऐना रहेको बताएका हुन् ।
सञ्चारकर्मीहरूले सरकारलाई पर्याप्त सूचना र समालोचना गर्नका निम्तिसमेत आवश्यक रहेको उनको भनाइ छ ।
‘सञ्चार जगत कांग्रेसका लागि ऐना हो,’ उनले भने, ‘कांग्रेसको गन्तव्य र तपाईंहरूको गन्तव्य एउटै हो ।’ जनताको माझबाट गरिबी हटाउन कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।
‘राज्यले सधैँ आफ्नो प्रशंसा मात्रै चाहन्छ, आलोचना सुन्न सक्दैन,’ उनले थपे, ‘तर सञ्चार जगत आफ्नो निर्भयतामा रहेर उभियो भने सूचना प्रवाहमा रहने मानिसहरू आफ्नो लक्ष्यमा पुग्छन् ।’
जनतालाई जनताकै अधिकारका निम्ति सञ्चार जगतले काम गरिरहेकोमा उनले प्रशंसा गरे । लोकतन्त्रको सबल पक्ष सञ्चार जगतलाई मानिने भएपनि राज्य भने आफ्नो प्रशंसा मात्र खोज्ने उनले बताए ।
‘जनताको माझबाट गरिबी हटाउन कांग्रेसले सम्पूर्ण सामथ्र्य प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘यसका निम्ति प्रेस जगतले झकझकाउनुपर्छ । कांग्रेस एकताबद्व भएर जनतामा भएका पीडा र दुःखलाई अंगालेर हिड्नुपर्छ ।’
उनले नेपाली जनताको पक्षमा काम गर्नका निम्ति जुन लक्ष्यमा पुग्नुपर्ने हो, त्यो बाँकी रहेको बताए ।
‘देशको विकासमा निजी स्वार्थ लागू गर्न हुँदैन । जनताका आर्थिक प्रगति, सामाजिक सद्वाभका निम्ति कांग्रेसले भूमिका खेल्नुपर्छ,’ पार्टीका पूर्व महामन्त्रीसमेत रहेका उनले भने, ‘आज देशमा जे जति काम भएका छन्, त्यो कांग्रेसकै कारण भएको हो । कांग्रेसकै नीतिका कारण काम भएको छ, तर, जति हुनुपर्ने हो त्यति काम भएको छैन ।’
कार्यक्रममा केन्द्रीय सदस्यहरू अमृत अर्याल, भीम पराजुली, राजीव ढुंगाना, डिला संग्रौला, पार्टी प्रदेश सभापति उद्धव थापालगायतले बोल्दै सञ्चार जगतले सत्तालाई खबरदारी गर्नुपर्ने र राम्रो कामको प्रचार गर्नुपर्ने बताएका थिए ।
कार्यक्रम नेपाली कांग्रेस कोशी प्रदेश सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक बाबुराम कोइराला (बासु)को सभाध्यक्षतामा सम्पन्न भएको थियो ।














Discussion about this post