इटहरी : धनकुटाको साँगुरीगढी गाउँपालिका ९ स्थितबाट प्रहरीले गोली फायर गरी लागूऔषध गाँजा बोकेको पाँच वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, एसएसपी भीमबहादुर दाहालका अनुसार लागूऔषध गाँजा बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी ९ स्थित कच्ची सडकखण्डमा चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो ।
एकैसाथ आउँदै गरेको पाँच वटा मोटरसाइकल रोक्ने क्रममा मोटरसाइकलमा सवार रहेका व्यक्तिहरूले प्रहरी टोलीमाथि नै हातपात तथा ढुंगामुडा प्रहार गरेपश्चात प्रहरीले गोली फायर गरेको दाहालले जानकारी दिए ।
उनका अनुसार प्रहरीले एसएलआर राईफलबाट एक राउण्ड हवाई फायर गरी ओसारपसारमा संलग्न रहेका ६ जनालाई नियन्त्रणमा लिएको हो ।
गाँजा तस्करीमा संलग्नहरूले मोटरसाइकलमा बोकेको एक सय २० किलोग्राम गाँजासहित ५ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको एसएसपी दाहालले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमि गाँउपालिका १ का ३४ वर्षीय नकुल राई, २१ वर्षीय ओमप्रकाश राई, साँगुरीगढी ८ का २८ वर्षीय मंगल कुमार राई, २९ वर्षीय विशन राई, २६ वर्षीय थामबहादुर राई र २१ वर्षीय सुमन राई रहेका छन् ।
उनीहरूले प्रयोग गरेको को ३८ प ३५२२, प्रदेश १–०२–०५३ प ९६६३, प्रदेश १–०२–०५३ प ८६१७, प्रदेश १–०२–०४३ प ९५९६ र को १४ प ७७५० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
गाँजासहित पक्राउ ६ जनामाथि नै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Discussion about this post