इटहरी : यही माघ १७ गतेदेखि इटहरीमा हुने दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको छ ।
द योङ ब्रदर्श क्लबको आयोजनामा इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता माघ २४ गते समापन हुनेछ ।
जसका लागि आठ वटा टिम सहभागी हुनेछन् । पहिलो दिन माघ १७ गते न्यू स्टार क्लब बराहक्षेत्र र दमक एकेडेमी फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी दोस्रो दिन १८ गते आयोजक द योङ ब्रदर्श क्लब इटहरी र केराबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।
तेस्रो दिन १९ गते लोहोरुङ फुटबल क्लब संखुवासभा र चारतारे युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।
यस्तै, चौथो दिन माघ २० गते गाइघाट फुटबल क्लब उदयपुर र सिंहदेवी फुटबल क्लब धनकुटाबीच प्रतिस्पर्धा हुनेछ ।
माघ १७ र १९ गतेका विजेता टिमले माघ २१ गते पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् भने माघ १८ र २० गतेका विजेता टिमले माघ २२ गते अन्तिम सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
अघिल्लो वर्ष भएको प्रतियोगितामा बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब)तेह्रथुमले उपाधि जितेको थियो ।
२४ गते भने फाइनल खेल हुने भएकाले २३ गते आयोजकले आवश्यक तयारी गर्ने सुब्बाले बताए । सुब्बाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ ।
उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ ।
अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । तर, यस वर्ष पुरस्कार राशि बढाइएको उनले बताए ।
प्रतियोगिता संयोजक विकास केसीका अनुसार प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद पाँच हजार प्रदान गरिनेछ ।
उक्त क्लब इटहरीको पुरानो क्लब रहेको र खेल क्षेत्रमा लाग्ने युवाहरू कुलतबाटसमेत मुक्त हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।
केसीका अनुसार खेलमा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने तयारी छ ।
जसअनुसार सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार, उत्कृष्ट डिफेन्डरलाई नगद १० हजार, उत्कृष्ट मिड फिल्डरलाई नगद १० हजार, उत्कृष्ट स्ट्राइकरलाई नगद १० हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १० हजारसहित ट्रफी र मेडलसहित प्रमाणपत्र वितरण गरिने तयारी गरिएको उनले बताए ।
प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
Discussion about this post