इटहरी : धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले रोयल थिम्पु कलेज भुटानको पोस्टमा आधा दर्जन बढी गोल गर्दै फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा चर्च ब्वाइजले भुटानलाई ७ गोल गर्दै सहज जित निकालेको हो । चर्च ब्वाइजका लागि खेलको २१ मिनेटमा समीर तामाङले सुरूआती गोल गरे । उनले आबायोमी फाकुन्लेको पासमा गोल गरेका थिए ।
यसैगरी २७ मिनेटमा चर्च ब्वाइजका लागि अर्मोन्ड बेड्युमले थप १ गोल गरे । लगत्तै २८ मिनेटमा पदम भट्टराईले अर्को गोल गर्दै टिमलाई अग्रता दिलाए ।
पहिलो हाफमा ३–० गोल अन्तरले अग्रता लिएको चर्च ब्वाइजका लागि खेलको ४९ औँ मिनेटमा रोहन कार्कीको कर्नरमा अर्मोन्ड बेड्युमले थप १ गोल गरे ।
यसैगरी खेलको ५१ मिनेटमा समीर तामाङको पासमा उनै अर्मोन्ड बेड्युमले थप १ गोल गरे । यससँगै अर्मोन्डले ह्याट्रिक गरेका थिए ।
खेलको ५५ औँ मिनेटमा समीर तामाङको प्रहार गोलमा परिणत भयो । खेलको ८५ मिनेटमा उनै समीर तामाङले थप १ गोल गरे । यससँगै उनले ह्याट्रिक गरे ।
सुरूदेखि नै दबाबमा रहेको भुटानले सान्तवना गोलसमेत गर्न नसक्केपछि घर फर्किएको छ ।
खेलको म्यान अफ दि म्याच समीर तामाङ घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
भुटानले यसअघि सोमबार भुटानले इटहरीको राष्ट्रिय जागृति क्लब (राजा)लाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
बिहीबारको अन्तिम सेमिफाइनल खेल साविक विजेता न्यूरोड टिम (एनआरटी) र पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब (युकेएफसी) प्रतिस्पर्धा हुनेछ ।
खेलको विजेता टिमले नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद पाँच लाखमा चित्त बुझाउनेछ ।












Discussion about this post