इटहरी : इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि केराबारी फुटबल क्लब, मोरङले चुमेको छ ।
बिहीबार इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा केराबारीले लोहोरुङ फुटबल क्लब संखुवासभालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
खेलको १५ मिनेटमा केराबारीका लागि विदेशी खेलाडी एलेक्सले गोल गरे । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि उक्त गोल नै निर्णायक बन्यो ।
यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा दमक एकेडेमी झापालाई सडन डेथमा पराजित गर्दै लोहोरुङ फुटबल क्लब संखुवासभा फाइनलमा प्रवेश गरेको थियो ।
मंगलबार भएको अन्तिम सेमिफाइनल खेलमा केराबारीले सिंहदेवी फुटबल क्लब धनकुटालाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलका लागि सिट सुरक्षित गरेको थियो ।
बिहीबार भएको फाइनल खेल प्रतिस्पर्धात्मक भएपनि लोहोरुङले गोल फर्काउन नसक्दा केराबारीले जित निकालेको हो ।
यससँगै खेलको विजेता टिम केराबारी फुटबल क्लबले नगद दुई लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
उपविजेता बनेको लोहोरुङ फुटबल क्लब संखुवासभाले एक लाख ३० हजारमा चित्त बुझायो ।
विजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङमाङले पुरस्कार वितरण गरे ।
खेलको म्यान अफ दि म्याच केराबारीका एलेक्स घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे । यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडी केराबारीका प्रवेश बस्नेत घोषित हुँदै नगद १५ हजार प्राप्त गरे ।
यस्तै, उत्कृष्ट गोलरक्षक केराबारीकै रोशन कार्की, उत्कृष्ट डिफेन्डर केराबारीकै सुजन चौधरी, उत्कृष्ट मिड फिल्डर लोहोरुङका हेमन लिम्बू, उत्कृष्ट फरवार्ड लोहोरुङका जीवन लोहोरुङ, सर्वाधिक गोलकर्ता केराबारीका नितेश लिम्बू घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
यसैगरी राइजिङ प्लेयर आयोजक द योङ ब्रदर्श क्लबका सलोज जिमी घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।
खेल संयोजक एवम् आयोजक द योङ ब्रदर्श क्लबका संरक्षक विकास केसीका अनुसार माघ १७ गतेदेखि भएको प्रतियोगितामा कोशी प्रदेशका आठ वटा टिम सहभागी थिए ।
गत वर्षदेखि सुरू भएको उक्त प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिइने क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।
भिडिओ














Discussion about this post