इटहरी : बुधबार इटहरी नमुना कलेजले ‘बिग इनोभेसन डे’ मनायो । उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूले विभिन्न स्टल राखेर आफ्ना उत्पादनको प्रदर्शनी गरे ।
जसमा विद्यार्थीहरूले सूचना, प्रविधि, शिक्षा, कला, साहित्य, संस्कृति, कृषि, खाद्यान्न, स्वास्थ्यलगायत दैनिक जीवनमा प्रयोग हुने सामाग्रीहरूको प्रदर्शनी गरेका थिए ।
जसमध्ये पनि उक्त प्रदर्शनीमा लेखिएको एउटा स्टलमा अवलोकनकर्ताहरूको भीड लाग्यो । जहाँ लेखिएको थियो – ‘बेरोजगार चिया पसल’ ।
खासगरी बेरोजगार युवाहरू हुन्, वा जतिसुकै व्यस्त मानिसहरू नै । कुनै गफगाफ गर्नुपर्यो भने पहिलो रोजाइ चिया पसल नै हुन्छ । कतिपयले त चिया पसलमा घण्टौँ बिताउँछन् ।
त्यस्तै, घण्टौँ बिताउने माध्यम चिया पसल भएको भन्दै नमुना कलेजको बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले बेरोजगारी चिया पसलको स्टल राखेका थिए ।
जहाँ साधारण (नर्मल)देखि मट्का र मसाला चिया बिक्री गरिएको थियो । १५ रुपैयाँदेखि ४० रुपैयाँ मूल्य तोकिएको चिया पसलमा विद्यार्थी र प्रेमिल जोडीका लागि भने छुट दिइएको विद्यार्थी सविन श्रेष्ठले बताए ।
पछिल्लो समय युवा जमातमा मट्का चियाको माग बढ्दै गएकाले यो कन्स्पेटमा प्रदर्शनी राखिएको विद्यार्थी सविन बताउँछन् । उनका अनुसार पछिल्लो समय आम मानिसहरू विदेश जाने अवस्था भइरहँदा चिया पसलबाटै पनि देशमै टिक्न सकिने सन्देश दिन पनि उक्त स्टल राखिएको हो ।
‘युवा जमातमा मट्का चियाको माग बढ्नुले पनि यसमा आकर्षण गरेको छ,’ उनले भने, ‘पछिल्लो समय विद्यार्थीहरू विदेश गइरहेको अवस्थामा देशमै पनि चिया पसल सञ्चालन गरेर नै थोरै लगानीमा टिक्न सकिन्छ भन्ने पनि सन्देश दिन खोजिएको हो ।’
सविनसहित एलिसा बराल, आस्थिका चौहान, आशिष श्रेष्ठ, सहेली श्रेष्ठ र रक्षा घलेको टिमले उक्त स्टल राखेको हो ।
‘चियामा विभिन्न मसाला कुटेर आफैँले उत्पादन गरिएका सामाग्री प्रयोग गरिएको हो,’ विद्यार्थी आस्थिकाले भनिन्, ‘मानिसको एकै नजरमा यो नाम क्याच होस् भनेर राखेका हौँ । जसकारण धेरैजना अवलोकनकर्ताहरूले चियाको स्वाद लिनुभएको छ ।’
‘टाइम पास’लाई चिया गफ र ‘आइडिया’सँग सेयर गर्नुपर्ने सन्देश दिइएको थियो ।
बुधबार इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयअघि रहेको अगाडीको मैदानमा ८९ वटा स्टल राखिएको थियो ।
जसमा ग्रिन पिस इटहरीमा अध्ययनरत नर्सरीदेखि नमुना कलेजमा अध्ययनरत स्नातक तहसम्मका विद्यार्थीहरूले आफैँले उत्पादन गरेका सामाग्रीको प्रदर्शनी राखिएको थियो ।
कलेजको २५ औँ स्थापना दिवसको अवसरमा बिग इनोभेसन डे मनाइएको क्याम्पस प्रमुख धर्म न्यौपानेले जनाए । उनले विद्यार्थीहरूको रूचि र सिर्जनात्मक क्षमतालाई प्रोत्साहन प्रयोगात्मक सिकाईलाई जोड दिइएको बताए ।
उनले भने, ‘विद्यार्थीहरूलाई किताबी ज्ञानमा सीमित राख्ने भन्दा पनि, उनीहरूलाई जीवनमा प्रयोग हुने शिक्षा दिन हामी तत्पर छौँ । जसको परिणाम आजको यो प्रदर्शनीमा देखिन्छ ।’
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलगायतको उपस्थिति रहेको कलेजका सञ्चालक समिति अध्यक्ष केशव खड्काले बताए ।
खड्काका अनुसार २०५६ सालमा स्थापना भएको ग्रिन पिस एकेडेमी थप स्तरोन्नति गर्दै २०७० सालमा इटहरी नमुना कलेजको रूपमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको हो ।
आधारभूत तहदेखि कलेजमा प्लस टु तथा स्नातक तहमा बिएस.डब्लु., बिसिए, बीएचएम, बिबिएस, बिबिए, बिआईटी र स्नातककोत्तर तहमा एमबिएको अध्यापन गराइरहेको खड्काले जानकारी दिए ।
भिडियो
Discussion about this post