इटहरी : धरान उपमहानगरपालिका ६ पाँचकन्या सामुदायिक वनमा मृत भेटिएकी महिलाको पहिचान भएको छ ।
सोमबार तत्काल नाम, थर, वतन नखुलेकी महिलाको शव फेला परेको थियो ।
तत्काल पहिचान नभएपनि उनको बिहीबार पहिचान खुलेको छ । उनी इटहरी उपमहानगरपालिका–२, हलगडामा बसोबास गर्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहाल (बुढाथोकी) रहेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार इटहरी घर भएकी ती महिलाको माइती धनकुटाको महालक्ष्मी नगरपालिका–१ माइती रहेको खुलेको छ ।
चुनकुमारीका भाइ लीलबहादुर दाहालले शवको सनाखत गरेका हुन् । मृतक चुनकुमारीका श्रीमान प्रेम बुढाथोकी वैदेशिक रोजगारीको क्रममा कोरियामा छन् ।
उनी कोरिया गएको ५ बर्षपछि गत पुषमा करिब एक महिना बिदामा आएको र पुनः कोरिया नै फर्किएको परिवारजनले जनाएको छ ।
शव धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा रहेको र पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।
घटनाको प्रकृति हेर्दा घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेसा लगाएर शव छाडेजस्तो देखिने प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ ।
महिलाको हत्या कसले गरेको हो भनेर यकिन नभएपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि – धरानमा महिलाको हत्या गरी जंगलमा फ्याँकेको आशंका, शव पहिचान गर्न प्रहरीको अपिल
Discussion about this post