धनकुटा : कोशी उच्च बाँध पीडितहरूको भेलाले धनकुटाको सहिदभूमि गाउँपालिका २ का असीम राई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको छ ।
राईको नेतृत्वमा ७१ सदस्यीय कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको हो ।
नवनिर्वाचत अध्यक्ष राईले आगामी दिनमा अन्य जिल्लाका कोशी उच्च बाँध पीडितहरूलाई निरन्तर समेट्दै लैजाने र संघर्षका थप कार्यक्रमहरू आयोजना गर्दै जाने बताए ।
समितिको उपाध्यक्षमा उदयपुरका लोकेन्द्र राई, सचिवमा सहिदभूमि १ छत्रप्रसाद राई, सह–सचिवमा साँगुरीगढी गाउँपालिका धनकुटाका अजित राई र कोषाध्यक्षमा सहिदभूमि १ का चन्द्रकला राई सर्वसम्मत चयन भएका छन् ।
सहिदभूमि गाउँपालिकाको वडा नं. १ सिम्लेमा वयोवृद्ध गणेश नाइका राईको अध्यक्षतामा भएको भेलाले ७१ सदस्यीय कोशी उच्च बाँध पीडित संघर्ष समिति सर्वसम्मत चयन गरेको हो ।
सप्तकोशी जनअधिकार मञ्चका केन्द्रीय अध्यक्ष बलबहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा कोशी उच्च बाँध निर्माण नेपाल र नेपालीहरूको हितमा नभएको र यो विषयमा २०६० सालदेखि आवाज उठाउदै आएको प्रमुख अतिथि राईले बताए ।
देशको राजनीतिक अस्थिरताका कारणबाट विगतदेखि हालसम्मै विदेशी शक्ति सम्पन्न राष्ट्रहरूले नेपालको जल, जमिन र जंगलमा हस्तक्षेपकारी नीति र हेपाहा प्रवृत्ति हाबि हुँदै आएको राईले बताए ।
भेलामा धनकुटा, भोजपुर र उदयपुरका दुई सयको संख्यामा कोशी उच्च बाँध पीडितहरूको सहभागिता रहेको थियो ।
भेलामा हतुवागढी गाउँपालिका ९ का वडाध्यक्ष एवं कोशी उच्च बाँध पीडित सञ्जोग राई, अरुण गाउँपालिका ६ भोजपुरका बुद्धिजीवी एवं कोशी उच्च बाँध पीडित चुुडामणि दाहाल, महालक्ष्मी नगरपालिका ५ का बुद्धिजीवी एवं कोशी उच्च बाँध पीडित दुर्गाप्रसाद पुरी, हतुवागढी गाउँपालिका ९ का कोशी उच्च बाँध पीडित साइमान राई, सहिदभूमि गाउँपालिका २ का कोशी उच्च बाँध पीडित बल्लरसिहं राईलगायतले कोशी उच्च बाँधका कारण हजारौँको उठिबास हुने भएकोले बाँध बन्न नहुुने बताए ।














Discussion about this post