विराटनगर : संखुवासभाको तुम्लिङटारस्थित कुमाल समुदायको बस्तीमा जीवनवादी साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभाको आयोजनामा तथा कुमाल समाज नेपाल, संखुवासभाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो ।
‘गाउँ–गाउँमा प्रलेस, टोलटोलमा साहित्य’ अभियानअन्तर्गत दोस्रो शृंखलाको रूपमा आयोजित कार्यक्रममा बालबालिकासँग कविता लेखन, प्रस्तुति र प्रतिस्पर्धासमेत गरिएको थियो । कार्यक्रममा ३५ जना बालबालिकालाई कापी–कलम वितरण गरिँदै कविता लेखनको प्रशिक्षण प्रदान गरियो ।
प्रशिक्षणपछि सोनु कुमाल, सलिना श्रेष्ठ, कृस्टिना दुत्पाउ, युनिस गौतम, सोनिया कुमाल, सुसान्त अधिकारी, दीक्षा कुमाल, सुमित्रा कुमाल, रेजिना कुमाल, स्मारिका कुमाल, विवशा कुमाल, आदर्श कुमाल, स्पन्दन दिक्पाल र रेजिना मगरले रचना प्रस्तुत गरे ।
प्रतिस्पर्धामा सोनिया कुमाल प्रथम, सलिना श्रेष्ठ द्वितीय र दीक्षा कुमाल तृतीय भएका छन् ।
प्रलेस सदस्य भुवन हलिदेले सञ्चालन गरेको कार्यक्रममा कुमाल समाजकी कोषाध्यक्ष अरुणा कुमालले स्वागत मन्तव्य राखेकी थिइन् ।
कवि कृष्णबहादुर चापागाई, वीरेश राई, राम गुरुङ, गुरुप्रसाद सुवेदी, मैया बजगाईं र सुशीला कुमाल मगरले कविता तथा गजल वाचन गरेका थिए ।
कार्यक्रममा शिक्षक मित्राकुमारी राई, सवित्रा पन्त सुवेदी, खड्गकुमारी दाहाललगायत स्थानीय विद्यालयका विद्यार्थी र कुमाल समाजका पदाधिकारीहरूको उपस्थिति थियो ।
कार्यक्रमका सभापति तथा प्रलेस जिल्ला अध्यक्ष ताराबहादुर बुढाथोकीले बस्तीमै पुगेर कविता लेखनको तालिम तथा गोष्ठी आयोजना गर्नुको महत्व औँल्याउँदै भने, ‘जहाजले उड्छु भन्यो, तिमीले बस्ती छोडिदियौ । मोटरले गुड्छु भन्यो, तिमीले छाप्रो तोडिदियौ । परियोजनाले बस्छु भन्यो, तिमीले दोसल्ला ओढिदियौ । विकास अघि सर्दै गयो, तिमी पछि पर्दै गयौ ।’
उनले पछाडि पारिएको कुमाल समुदायलाई साहित्यिक चेतनाले जोड्ने उद्देश्यले बस्ती रोजिएको बताए ।
Discussion about this post