विराटनगर : कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन एक खर्ब, ५२ अर्ब, १६ करोडको परियोजनामा एमओयु भएको छ ।
शुक्रवार (आज) कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइराला र लगानीकर्ताहरू बीच सम्झौता भएको छ ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिका आठ परियोजनामा ३ अर्ब, ऊर्जामा तीन परियोजनामा आठ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, पर्यटनको १० परियोजनाका ३४ अर्ब १९ करोड र फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना एमओयु सम्पन्न भएको छ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना एमओयु भएका हुन्। प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरेको थियो।
सोकेसिङ परियोजनाको अनुमानित लागत एक खर्ब, ७३ अर्ब ४९ करोडको थियो। आजको कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन ऐतिहासिक र भव्य रूपमा सम्पन्न भएको बताए ।
कार्यक्रममा आन्तरिक मामला तथा कानुनमन्त्री रेवती रमण भण्डारी ले प्रदेश सरकारले गरेका कानुनी र नीतिगत कुराका बारेमा प्रकाश पारेका थिए । उनले प्रदेशमा लगानी मैत्री वातावरण सिर्जना गर्ने गरी सरकार अगाडि बढेको जानकारी दिए ।
पूर्व मुख्यमन्त्री केदार कार्कीले लगानी मैत्री वातावरण बनाउन कानुन संशोधन गर्ने कुरा गाह्रो नभएको बताउँदै सरकार र मुख्यमन्त्रीले चाहेमा तत्काल संशोधन हुने र यसले लगानीको वातावरण तयार हुने बताए ।
कोशी प्रदेश सभाका सभामुख अमरबहादुर बिष्टले सम्मेलन सफल भएको बताए ।
कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कोशी प्रदेशले लगानी मैत्री वातावरण तयार गरेको बताए ।
कार्यक्रममा चिनियाँ लगानीकर्ता लियाङ झुङ, गैर आवसीय नेपाली लगानीकर्ता रेजिना राई प्रधान, लगानीकर्ता गालभ ढुंगाना लगायतले कोशी प्रदेशमा लगानीको सम्भावना राम्रो रहेको बताए ।














Discussion about this post