इटहरी : इटहरीका विभिन्न स्थानमा केही दिनदेखि खानेपानी नहुँदा समस्या भएको छ । इटहरीको वडा नं. १, १९ र २० का अधिकांश स्थानमा खानेपानी नआउँदा समस्या भएको हो ।
इटहरी २० मा रहेको खानेपानीको ट्युबेलको मोटरको क्वाइल जलेपछि खानेपानी आपूर्तिमा समस्या भएको तरहरा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष केशर प्रधानले बताए ।
‘संस्थाका पदाधिकारी र कर्मचारीहरू नै मर्मतमा खटिएका छौँ,’ प्रधानले भने, ‘अब आज केहीबेर पानी आएपनि भोलि दिउँसो ४ बजेसम्म पानी आपूर्ति गर्नेगरी काम गरिरहेका छौँ ।’
उनका अनुसार मंगलबार दिउँसोसम्म पानी आउनेगरी काम भइरहेको छ । खानेपानी नआउँदा यहाँका तीन हजार भन्दा बढी घरधुरीमा समस्या भएको छ ।
खानेपानी ट्यांकीमा पानी पठाउने दुईवटा मोटरमध्ये एउटाको क्वाइल जलेको र अर्को मोटर पनि बिग्रिएकाले यो समस्या भएको उनले बताए ।
प्राविधिकले अहिले काम गरिरहेपनि खानेपानी पठाउन अझै समय लाग्ने उनको भनाइ छ ।
‘खानेपानीका कारण सबै कलहरू मासिदैँ गए । तर, अहिले खानेपानीमा समस्या हुँदा सर्वसाधारणलाई मर्का परेको महसुस गरेका छौँ,’ प्रधानले भने, ‘हामी सकेसम्म चाँडै खानेपानी पठाउने तयारीमा छौँ ।’
Discussion about this post