मोरङ : मोरङको ग्रामथान गाउँपालिकामा एक वृद्धाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्काको शव आइतबार दिउँसो मोरङ–सुनसरी सिँचाइ आयोजनाको नहरमा घोप्टिएको अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रारम्भिक अनुसन्धानबाट खड्काको हत्या छिमेकीले नै गरेको खुलेको छ। हत्या गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका–६ की ४० वर्षीया सीता ऋषिदेवलाई पक्राउ गरेको छ।
मोरङ प्रहरीका अनुसार आरोपित सीताको घरमा खानतलासी गर्दा मृतकले लगाएको सुनको गहना फेला परेको छ। गहनाको लोभमा वृद्धाको हत्या गरिएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
प्रहरीले घटनास्थल वरिपरि खोजतलास र प्रत्यक्षदर्शीको बयान संकलन गर्दै घटनाको पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।
Discussion about this post