विराटनगर : विराटनगरमा भारतबाट आँखाको उपचार गराउन आएका बिरामीसँग घुस लिएको आरोपमा तीन जना प्रहरीमाथि अनुशासनात्मक कारबाही प्रक्रिया सुरु गरिएको छ।
इलाका प्रहरी कार्यालय रानीमा कार्यरत दुई जना प्रहरी सहायक हवल्दार निलम्बनमा परेका छन् भने एक जना असई (प्रहरी सहायक निरीक्षक)लाई निलम्बनको सिफारिस गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सहायक हवल्दार विक्रम माझी र अम्बरबहादुर श्रेष्ठलाई बिहीबार निलम्बन गरी थप छानबिन सुरु गरिएको हो। त्यस्तै, असई खम्बबहादुर विकलाई पनि कारबाहीको तयारी गरिएको छ। उनलाई निलम्बन गर्न मोरङ प्रहरीले कोशी प्रदेश प्रहरी कार्यालयमा सिफारिस पठाएको जनाएको छ।
घटनाबारे अनुसन्धानका क्रममा ड्युटीमा खटिएका ती प्रहरीहरुले भारतबाट आएका बिरामीसँग ६ हजार भारतीय रुपैयाँ (भारु) घुस लिएको आरोप लागेको हो। विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटमा कार्यरत ती प्रहरीहरूले २५ हजार भारुभन्दा बढी ल्याउन नपाइने भन्दै बिरामीलाई रोकेर बार्गेनिङपछि पैसा लिएर छाडेको भनिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिरामीले पहिलो दिन पैसा बुझाएपछि भोलिपल्ट उजुरी लिएर प्रहरी कार्यालय पुगेका थिए। त्यसपछि तीनै जनालाई नियन्त्रणमा लिई छानबिन थालिएको हो।
यद्यपि, आरोपित प्रहरीहरूले घुस लिएको अस्वीकार गर्दै उनीहरुले बिरामीलाई आवश्यक जानकारी दिई सम्झाइबुझाइ गरी छाडेको दाबी गरेका छन्।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार घटनाबारे आन्तरिक छानबिन र अनुसन्धान जारी रहेको छ। ‘प्रहरीमाथि आर्थिक अनियमितताको गम्भीर आरोप लागेको छ। छानबिन अघि बढिसकेको छ, अनुसन्धानपछि थप तथ्य खुल्नेछ,’ उनले भने।













Discussion about this post