मोरङ : मोरङको धनपालथान गाउँपालिका–५ बबियामा एक सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंकासहित शव फेला परेको छ।
शुक्रबार राति घर नजिकै सुतिरहेकी आत्तिका सरदारको शव शनिबार बिहान दुर्गा आधारभूत विद्यालय छेउको बाटोमा भेटिएको हो।
उनी आफ्ना काका अनिष सरदारसँगै सुतिरहेकी थिइन्। प्रहरीका अनुसार उनी राति करिब ३ बजेबाट बेपत्ता थिइन्। बालिकाका आमा–बुबा कामको सिलसिलामा भारत गएका थिए भने आत्तिका आफ्नी हजुरआमासँग थिइन्।
परिवारका सदस्यहरू सुतिरहेको बेला आत्तिका बेपत्ता भएको र खोजीका क्रममा शव बिहान ५ बजेतिर करिब सय मिटर पर फेला परेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरी प्रवक्ता, डीएसपी कोपिला चुँडालका अनुसार घटनास्थलको अवस्था हेर्दा बालिकामाथि बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, पोस्टमार्टम रिपोर्ट नआउँदासम्म यकिन भन्न नसकिने उनले बताइन्।
प्रहरीले बालिकाका काका अनिष सरदारलाई नियन्त्रणमा लिएको छ। उनी मदिरा सेवन गरेको पुष्टि भए पनि बलात्कार वा हत्या स्वीकार नगरेको प्रहरी स्रोतले जनाएको छ।
‘घटनाको प्रकृति, समय र प्रमाणका आधारमा उनीमाथि शंका गर्ने बलियो कारण देखिएको छ,’ प्रहरी स्रोतले भन्यो।
शवको पोस्टमार्टम विराटनगरस्थित कोशी अस्पतालमा गरिएको छ।
प्रहरीले घटनाको अनुसन्धान तीव्र पारिएको जनाएको छ। सबै पक्षको संलग्नता र प्रमाणको आधारमा निष्कर्षमा पुगिने प्रहरीको भनाइ छ।














Discussion about this post