इटहरी : नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा लोकतन्त्र, प्रेस स्वतन्त्रता, र व्यावसायिक पत्रकारिताको पक्षमा ऐक्यबद्धता सभा आयोजना गरिएको छ।
आइतबार साँझ इटहरीको संगीत चोकमा आयोजित सभामा सञ्चारकर्मी, नागरिक समाज, शिक्षासेवी, साहित्यकार, कलाकार, राजनीतिक दलका प्रतिनिधि, मानव अधिकारकर्मी लगायत विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता सुनिश्चित गर्नु राज्यको दायित्व भएपनि राज्य तहबाटै पछिल्लो समय प्रेस स्वतन्त्रतालाई दबाउने काम भइरहेको उल्लेख गर्दै पत्रकारितामाथि भइरहेको दमन, धम्की र हस्तक्षेपको विरोध जनाएका थिए।
वक्ताहरूले पत्रकारिता क्षेत्रको मर्यादा र व्यावसायिकतालाई जोगाउन सञ्चारकर्मीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनीहरूले पत्रकारहरूलाई निष्पक्ष, सत्य र जिम्मेवार पत्रकारिताका लागि प्रोत्साहित गर्ने वातावरण निर्माणमा सरोकारवालाहरूको सहयोग अपरिहार्य रहेकोसमेत बताए।
वक्ताहरूले प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको कृपामा नभई संविधानद्वारा प्रत्याभूत अधिकार भएको भन्दै त्यसको संरक्षण सबै नागरिकको जिम्मेवारी भएको स्मरण गराए।














Discussion about this post