इटहरी : इटहरीको पहिलो व्यापारिक कम्प्लेक्स ‘इटहरी मल’ (आइसिनेमा) एक समय शहरको आधुनिकतासँग जोडिएको प्रतीक मानिन्थ्यो।
तर, सोमबार यसलाई एनआइसी एशिया बैंकले खाली गराएसँगै यो प्रतीक विगतको स्मृतिमा सीमित भएको छ।
१४ करोड रुपैयाँ ऋणको साँवा–ब्याज तिर्न नसकेपछि मलका मालिक रेवतीरमण दुलाल समस्यामा परे।
लामो समयदेखि राजनीतिक पहुँचको भरमा बैंकको लिलामी प्रक्रिया टार्दै आएका उनी असफल भएका हुन्। बैंकले लिलामीमा कोही पनि सहभागी नभएपछि सम्पत्ति आफ्नै नाममा ल्याएको हो।
सात तले आधुनिक संरचना, सिनेमा हल (आइसिनेमा) र दर्जन बढी साना–ठूला पसलले इटहरी मललाई केही वर्ष अघिसम्म शहरकै व्यावसायिक पहिचान बनाइदिएको थियो।
परिवारसँग घुम्ने, किनमेल गर्ने र नयाँ पुस्ताको भेटघाट स्थलका रूपमा यसको लोकप्रियता उत्कर्षमा थियो। तर आर्थिक अव्यवस्थापन र ऋण भारका कारण मलको वैभव टिक्न सकेन।
एनआइसी एशिया बैंकका अनुसार कित्ता नम्बर ५००, ८३०, ८३१, २७९ र ४९८ मा पर्ने एक कट्ठा १३ धुर जग्गासहितको सम्पत्ति अब बैंककै स्वामित्वमा रहेको छ। बैंकले यसलाई प्रादेशिक कार्यालयका रूपमा प्रयोग गर्ने तयारी गरेको जनाएको छ।
स्थानीय व्यापारीहरूका अनुसार उक्त मल खाली हुनु केवल एक व्यापारीको असफलता मात्र होइन, इटहरीको शहरी विकासको एउटा चरणको अन्त्य पनि हो।














Discussion about this post