धरान : काठमाडौँमा आयोजित जेन-जी आन्दोलनको क्रममा ज्यान गुमाएका धरान उपमहानगरपालिका–५ निवासी ४२ वर्षीय साजन मेवाहाङ राईको शव धरान ल्याई अन्त्यष्टि गरिएको छ।
मंगलबार धरान उपमहानगरपालिका–२ स्थित भानुचोकमा राईको श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो। उक्त कोणसभामा धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)सहित नगरवासीको उपस्थिति रहेको थियो।
शव ल्याइएपछि धरान नगर परिक्रमा गराइएको थियो। त्यसपछि साँझ ६ः४० बजे शवलाई अन्तिम संस्कारका लागि देउरालीस्थित जंगलतर्फ लगिएको थियो। पारिवारिक र जातीय परम्परा अनुसार जंगलमै दाहसंस्कार गरिएको हो।
शान्ति सुरक्षालाई मध्यनजर गर्दै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
पूर्वी पृतना हेडक्वाटर इटहरीबाट सह–सेनानी सन्दीप अधिकारीको नेतृत्वमा २६ जना नेपाली सेना, इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी वरिष्ठ नायव निरीक्षक घनश्याम पाण्डेको कमाण्डमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानबाट सशस्त्र प्रहरी सहायक निरीक्षक ललित बहादुर खड्काको नेतृत्वमा १० जनाको टोली खटिएको थियो।
भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनमा सहभागी हुन गएका राईको मृत्यु भएको थियो। आन्दोलनको प्रकृति, घटनाक्रम र जिम्मेवारीबारे हाल पनि अनुसन्धान तथा बहस जारी छ।














Discussion about this post