इटहरी : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केही दिनअघि भएको आन्दोलन निश्चित समूहको मात्रै नभई स्वार्थ समूहको आन्दोलन भएको आरोप लगाएका छन् ।
नेकपा एमाले विराटनगर महानगर कमिटीले बिहीवार विराटनगरमा आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डात्तोलन कार्यक्रममा बोल्दै कार्कीले २४ गतेको आन्दोलन जेन-जीको मात्रै नभई विभिन्न स्वार्थ समूहको आन्दोलन भएको टिप्पणी गरेका हुन् ।
उनले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गरे ।
जेन-जीको भ्रष्टाचारविरूद्ध मागलाई एमालेले पनि निरन्तर उठाइरहेको दाबी गरे । “पार्टी नेतृत्वले पनि कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ,” उनले थपे ।
कार्कीले प्राकृतिक सम्पदामाथि आक्रमण भइरहेको भन्दै स्वाधीन नेपाललाई परनिर्भर बन्न नदिन सबै सचेत हुनुपर्ने जिकिर गरे। संविधान मास्ने प्रयासले देशलाई अस्थिर बनाउने खतरा बढेको बताउँदै उनले यसलाई जोगाउन लाग्नुपर्नेसमेत बताए ।
महानगर कमिटीका अध्यक्ष बलराम गिरीले युवापुस्ताको मागलाई सम्बोधन गर्नेगरी पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै नेतृत्वले समयसापेक्ष सच्चिनुपर्ने आवश्यकता औल्याए ।











Discussion about this post