इटहरी : जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १७ देखि २० गतेसम्म सुनसरीमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लाबासीलाई सतर्क रहन सार्वजनिक सूचना जारी गरेको छ।
सूचनामा सप्तकोशी नदीसहित जिल्लाका अन्य साना–ठूला नदीमा पानीको बहाव बढ्ने र खतरा तह आसपास पुग्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रशासनले विशेषगरी कोशी तटीय क्षेत्र र बाढी सम्भावना रहेका वडाहरूमा उच्च सतर्कता आवश्यक भएको उल्लेख गरेको छ। जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सतर्क रहनुका साथै अत्यावश्यक तयारी गर्न अनुरोध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रद्धारा जारी सूचनाअनुसार रात्रिकालीन सार्वजनिक सवारी साधन सञ्चालन नगर्न, अत्यावश्यक नभएको खण्डमा जोखिमपूर्ण यात्रा नगर्न, रातको समयमा यात्रा नगर्न, बाढी प्रभावित तथा जोखिममा रहेका स्थानमा नयाँ संरचना निर्माण नगर्न आग्रह गरिएको छ ।
यसैगरी जोखिमयुक्त सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।
प्रशासनले स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन समितिलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ।
जिल्लाबासीलाई बाढी र वर्षासँग सम्बन्धित सम्भावित विपद्बाट सुरक्षित रहन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।















Discussion about this post