धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा दर्जनौँ नक्कली फेसबुक पेज, ग्रुप र अकाउन्ट सञ्चालनमा रहेको पाइएको छ।
प्रतिष्ठानले एक सूचना जारी गर्दै ती सबै अकाउन्टहरू अवैधानिक र अनधिकृत भएको स्पष्ट गरेको छ।
प्रतिष्ठानका अनुसार ती पेज र अकाउन्टहरू प्रतिष्ठानकै नाममा सीमित नभई, त्यहाँका चिकित्सक, कर्मचारी, विद्यार्थी तथा बाह्य व्यक्तिहरूद्वारा पनि सञ्चालनमा रहेका छन्।
प्रतिष्ठानले फेसबुकमा आफ्नो नाम टाइप गरी खोज्दा मिल्दाजुल्दा करिब १२ वटा पेज र ग्रुप भेटिएको जानकारी दिएको छ।
यसरी प्रतिष्ठानको नाममा नक्कली पेज सञ्चालन भइरहेको विषयमा संज्ञान लिएर प्रतिष्ठानले आधिकारिक फेसबुक पेज सार्वजनिक गरेको छ। सो पेजको लिंक प्रतिष्ठानको आधिकारिक वेबसाइटमार्फत पनि उपलब्ध गराइएको छ।
प्रतिष्ठानले जारी गरेको सूचनामा भनिएको छ, “फेसबुकमा हाम्रो नाममा सञ्चालन भइरहेका अन्य सबै पेज, ग्रुप वा अकाउन्टहरूसँग प्रतिष्ठानको कुनै सम्बन्ध छैन। प्रतिष्ठानका तर्फबाट जारी हुने समाचार, सूचना र सूचना अपडेटको विश्वसनीय जिम्मेवारी आधिकारिक पेजकै हुनेछ।”
प्रतिष्ठानले सबै सरोकारवालालाई आधिकारिक फेसबुक पेज (http://fb.com/bpkihsofficial) मार्फत मात्रै जानकारी प्राप्त गर्न र नक्कली पेजहरूसँग भ्रमित नहुन अनुरोध गरेको छ। साथै, फर्जी पेज वा ग्रुप देखेमा प्रतिष्ठानलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।
प्रतिष्ठानले यसअघि नै विभिन्न माध्यमबाट आधिकारिक फेसबुक पेजको जानकारी सार्वजनिक गरिसके पनि नक्कली अकाउन्टहरूको बढ्दो संख्या र गलत जानकारी प्रसारण भइरहेकाले पुनः सूचना जारी गरिएको जनाएको छ।















Discussion about this post