इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलामको इलाका प्रहरी कार्यालय नयाँ बजारमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रमेश कुमार चौधरीलाई असोज महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ।
विभागीय मूल्य–मान्यता, अनुशासन र आदेश–निर्देशनको समेत उच्च पालना गर्दै उत्कृष्ट मनोबलसहित पदीय कर्तव्य निर्वाह गरेको आधारमा चौधरीलाई सम्मान प्रदान गरिएको हो।
असोज १९ गते अविरल वर्षाका कारण इलामको माइजोगमाई गाउँपालिकामा गएको बाढीपहिरोका घटनामा चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उल्लेखनीय कार्य गरेको थियो।
उक्त घटनामा पहिरोमा पुरिएर मृत्यु भएका ८ जनाको शव उत्खनन गरी बाहिर निकाल्न, माइजोगमाई–५ र ६ का २ जना सुत्केरी महिला तथा १ जना सिकिस्त बिरामीलाई हेलीमार्फत तत्काल उद्धार गर्न उनले प्रभावकारी समन्वय र सक्रिय भूमिका खेलेका थिए।
त्यसैगरी, बाढी–पहिरोबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय नयाँबजारका लागि स्थानीय समाजसेवीहरूसँग सहकार्य गरी करिब ५० हजार रुपैयाँ बराबरको फर्निचर र आवश्यक सामाग्री उपलब्ध गराउनसमेत चौधरीले पहल गरेका थिए।
साथै, पहिरोले अवरुद्ध बनेका विभिन्न सडक तथा यातायात मार्ग सुचारु गराउन स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग निरन्तर समन्वय गरेको प्रहरीले जनाएको छ।
उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै उनलाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।














Discussion about this post