इटहरी : भारतको बिहारमा भइरहेको विधानसभा निर्वाचनको प्रभाव नेपाल–भारत सीमाक्षेत्रमा प्रत्यक्ष देखिन थालेको छ ।
निर्वाचन पूर्व सुरक्षालाई लिएर भारतीय पक्षले कडाइ गरेपछि कोशी प्रदेशको दक्षिणी सीमाबेल्टमा दैनिक जीवन, स्थानीय व्यापार र पारिवारिक आवागमन तीन दिनका लागि ठप्प हुने स्थिति बनेको छ ।
बिहारमा दोस्रो चरणको मतदान कात्तिक २५ गतेसम्म हुने भएपछि विराटनगरको रानी–जोगबनी, सुनसरीको भण्टाबारी लगायतका सीमा नाकाहरू कात्तिक २२ गते साँझ ६ बजेदेखि २५ गतेसम्म बन्द गरिएका छन् ।
सीमा बन्द हुँदा दैनिक पारिवारिक आवतजावत, बिहारी बजारबाट खरिद–बिक्री, अस्पताल उपचारका लागि आगमन–प्रस्थानसमेत रोकिएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार सीमा नाका बन्द सुरक्षा–प्राथमिकतामा आधारित गरिएको हो ।
यता सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठका अनुसार आपतकालीन स्वास्थ्य सेवा वा अनिवार्य परिस्थिति बाहेक अन्य आवतजावत रोकिएको छ ।
यस अवधिमा सामान्य यात्रा, व्यापारिक गतिविधि तथा मानिसको ओहोर–दोहोर पूर्ण रूपमा रोकिएको हुँदा स्थानीय बासिन्दा तथा व्यवसायीहरूलाई आवश्यक योजना मिलाइसक्न प्रशासनले आग्रह गरेको श्रेष्ठले बताए ।
मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि कात्तिक २५ को साँझपछि सीमा नाका क्रमशः खुल्ने प्रशासनले जनाएको छ ।














Discussion about this post