धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्भर अपग्रेडका कारण आइतबार दिनभरि विभिन्न स्वास्थ्य सेवाहरू प्रभावित भएका छन् । जसकारण हजारौँ बिरामीहरू मर्कामा परेका छन् ।
स्वास्थ्य सेवाहरू प्रभावित हुँदा उपचारका लागि बिहानैदेखि लाइनमा बसेका बिरामीहरू उपचारै नगराई घर फर्कन बाध्य बनेका छन् ।
प्रतिष्ठानको सम्पूर्ण सर्भर तथा सफ्टवेयर–हार्डवेयर प्रणाली अचानक बन्द भएपछि ओपीडीदेखि अन्य प्रशासनिक तथा स्वास्थ्य सेवा लिन आएका नागरिकहरू सास्तीमा परेका थिए।
प्रतिष्ठानका अनुसार शुक्रबार दिउँसोदेखि ओपीडी सेवा बन्द भएपछि मात्र सर्भर अपग्रेडको काम सुरु गरिएको थियो। सेवा अवरुद्ध न्यून होस् भन्ने उद्देश्यले नियमित काम समयपछि अपग्रेड कार्य थालिएको प्रतिष्ठानले जनाएको छ।
शुक्रबार करिब ४ घण्टा सर्भर डाउन रहेपछि राति ११ः३० बजेतिर अपग्रेड पूरा भएको थियो। तर, त्यसपछि सिस्टमले अपेक्षित गति नदेखाएपछि प्रविधिक टोली राति अबेरसम्म परीक्षण तथा त्रुटि पहिचानमा जुटेको थियो।
शनिबार राति २ः३० बजेसम्म ‘एडमिन–फिक्स’ तथा परीक्षण कार्य भए पनि आइतबार बिहान पुनः सफ्टवेयर सुस्त भएर सेवा प्रभावित भएको थियो।
निरन्तर प्रविधिक प्रयासपछि आइतबार साँझ ४ बजे मात्र सम्पूर्ण सफ्टवेयर–हार्डवेयर प्रणाली पुनःसञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ।
लगातार तीन दिन प्रभावित भएको प्रणालीका कारण सेवाग्राहीले भोग्नुपरेको झन्झटबारे सह–प्रवक्ता डा। अभिजीत कुमारले क्षमायाचना गर्दै प्रविधिक गडबडी रोक्न आवश्यक सुधार–व्यवस्थापनमा थप ध्यान दिइने बताएका छन्।
प्रतिष्ठानले सर्भर अपग्रेडपछि सेवा गति बढ्ने, अभिलेख व्यवस्थापन सहज हुने र डाटा अझ सुरक्षित हुने दाबी गरेको छ।














Discussion about this post