इटहरी : जनवरी महिनाको पहिलो शनिबारदेखि सुरु हुने पानी चरा गणना कोशी टप्पु वन्यजन्तु आरक्षमा भने ढिला गरी सुरु हुने भएको छ। समय व्यवस्थापनको कारण देखाउँदै आरक्षमा आगामी १० जनवरीदेखि चरा गणना सुरु गरिने भएको हो।
चरा गाइड तथा कोशी क्षेत्रका संयोजक चक्र तिम्सिनाका अनुसार कोशी टप्पुमा चरा गणनाका लागि धेरै समय लाग्ने भएकाले निर्धारित मितिमा सुरु गर्न नसकिएको हो। ‘१८ तारिखसम्म गणना सक्नुपर्ने भएकाले अझै पर्याप्त समय छ । यसअघि समय व्यवस्थापनका कारण तीन तारिखदेखि नै सुरु गर्न सकेनौं’ उनले भने।
कोशी टप्पु क्षेत्रमा तीन जना गणकले चतरा पुलदेखि राजाबाससम्म कोशी नदी क्षेत्रको सर्वेक्षण गर्नेछन्। गणनामा वन्यजन्तु आरक्ष कार्यालय, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) र कोशी पन्छी समाजको संयुक्त सहभागिता रहने उनले बताए।
यसैबीच, कोशी आसपासका सिमसारमा नयाँ प्रजातिका चरा देखिन थालेका छन्। चरा विज्ञ अनिस तिम्सिनाका अनुसार इटहरीको तरहरा कृषि फार्म र सुनसरीको बर्जु ताल क्षेत्रमा आकर्षक ‘मेनडरिन डक’ देखिएको छ। जुन यस क्षेत्रका लागि नौलो मानिन्छ।
जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन्। अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।
आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् ।



















Discussion about this post