विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक प्रकाश थापालाई पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको छ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, साहस र जिम्मेवारीका साथ पदीय कर्तव्य निर्वाह गरेबापत निरीक्षक थापालाई उक्त सम्मान प्रदान गरिएको हो।
प्रहरी निरीक्षक थापाले २०८२ साल असोज २६ गते ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की)को हतियारधारी समूहद्वारा बञ्चरो प्रहार गरी गरिएको बीभत्स हत्या तथा नगद र सुनका गरगहना लुटपाटको घटनामा सफल अनुसन्धान गरेका थिए।
त्यसैगरी, ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ मा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीया सोवितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको कोदालो तथा अन्य हतियार प्रयोग गरी २०८२ साल पुस १५ गते हत्या गरी अन्दाजी १ लाख रुपैयाँ नगद र ८ तोला सुनका गरगहना लुटिएको घटनामा पनि उल्लेखनीय अनुसन्धान सफलता हासिल गरेका थिए।
उक्त घटनाहरूको अनुसन्धानका क्रममा संलग्न ४ जना अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन निरीक्षक थापाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यसबाट आम नागरिकमा शान्ति सुरक्षा प्रति विश्वास र अनुभूति थप बलियो बनेको प्रहरी कार्यालयले जनाएको छ।
उनले सम्पादन गरेका कार्यको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।














Discussion about this post