इटहरी : इटहरी उपमहानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका कलेज, विद्यालय तथा बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी ओसारपसारका लागि प्रयोग हुँदै आएका सवारी साधनको अनुगमनका क्रममा विभिन्न सवारी नियम उल्लङ्घनका घटनाहरू देखिएपछि त्यसको नियन्त्रण तथा व्यवस्थापनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा सिट क्षमताभन्दा बढी विद्यार्थी राखी सवारी सञ्चालन गर्ने, प्राविधिक अवस्था कमजोर रहेका सवारी साधन प्रयोग गर्ने, अनावश्यक प्रेशर हर्न जडान तथा प्रयोग गर्ने, साथै जथाभावी पिक एण्ड ड्रप गर्नेजस्ता समस्या औँल्याइएको थियो।
कार्यक्रममा विद्यार्थी सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा जिम्मेवार सवारी सञ्चालनका विषयमा विस्तृत छलफल गरिएको थियो।
सहभागीहरूले विद्यार्थी ओसारपसार गर्ने सवारी साधनहरू सुरक्षित, मर्यादित र नियमअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै यसका लागि विद्यालय, सवारी चालक, अभिभावक तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
छलफलका क्रममा भविष्यमा यस्ता सवारी नियम उल्लङ्घनका गतिविधि दोहोरिन नदिन नियमित अनुगमन, सचेतनामूलक कार्यक्रम सञ्चालन तथा आवश्यक परे कडाइका साथ कानुनी कारबाही गर्ने विषयमा समेत सहमति भएको जनाइएको छ।














Discussion about this post