धनकुटा : धनकुटामा सञ्चालनमा रहेको एक सुधार तथा उपचार केन्द्रबाट १२ जना व्यक्ति फरार भएका छन् ।
लागूऔषध तथा मादक पदार्थ सेवनको लतबाट मुक्त गराउन राखिएका उनीहरू बिहीबार बिहान फरार भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
प्रहरीका अनुसार धनकुटा नगरपालिका–५ कर्मिटारस्थित सुनौलो जीवन सुधार तथा उपचार केन्द्रमा राखिएका ३० जनामध्ये १२ जना बिहान करिब १० बजेतिर भवनको सुरक्षा तारबेर तोडेर भागेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले फरार भएको जानकारी प्राप्त हुनासाथ खोजी कार्य सुरु गरिएको बताए ।
उनका अनुसार प्रहरीले आसपासका क्षेत्र, सम्भावित आवागमन मार्ग तथा फरार व्यक्तिहरूका आफन्तको सम्पर्कमा समेत निगरानी बढाएको छ।
घटनापछि सुधार केन्द्रको सुरक्षा व्यवस्थामा कमजोरी देखिएको भन्दै त्यसबारे समेत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
फरार भएका व्यक्तिहरूको अवस्था, पहिचान र सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ।













Discussion about this post