इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पूर्वी नेपाललाई आर्थिक सम्भावनाको शक्तिशाली केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन्।
मंगलबार इटहरीमा आयोजित चुनावी सभामा उनले प्राकृतिक स्रोत, कृषि उत्पादन र धार्मिक–सांस्कृतिक सम्पदाको व्यवस्थित उपयोगमार्फत समृद्धि सम्भव हुने दाबी गरे।
शाहले पूर्वलाई उत्पादन र आम्दानीको आधार बनाउने दीर्घकालीन अवधारणा अघि सारे। पूर्वी तराईमा बर्सेनि दोहोरिने बाढी र सुख्खा समस्यालाई औंल्याउँदै उनले दिगो सिँचाइ प्रणाली निर्माण अपरिहार्य रहेको बताए।
वर्षायाममा बाढी नियन्त्रणका लागि प्रभावकारी तटबन्ध र सुख्खा मौसममा नियमित सिँचाइ उपलब्ध गराउने पूर्वाधार विकासमा राज्यले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
खेतीयोग्य जमिन बालुवाले पुरिने र पानी अभावले बाँझै बस्ने अवस्थालाई अन्त्य गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको उनले जोड दिए।
साथै, पूर्वका धार्मिक तथा सांस्कृतिक स्थललाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै पाथीभरा देवी मन्दिर, मुक्मलुङ र खुवालुङलाई साझा आस्थाको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार धार्मिक पर्यटन विस्तारले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष टेवा पुग्नेछ।
पूर्व क्षेत्र देशकै पहिलो औद्योगिक आधार भएको स्मरण गराउँदै शाहले नयाँ उद्योग स्थापना प्रक्रियामा प्रशासनिक झन्झट र राजनीतिक हस्तक्षेप मुख्य अवरोध बनेको आरोप लगाए।
उद्योग खोल्न नेतादेखि कर्मचारीसम्म ‘ढोग्नुपर्ने’ अवस्था अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै उनले उद्योग सञ्चालनपछि देखिने ‘चन्दा आतंक’ रोक्न कडा व्यवस्था गरिने बताए।
लगानीकर्तालाई सुरक्षित र सहज वातावरण नदिए आर्थिक विकास सम्भव नहुने उनको तर्क थियो।
त्यस्तै, उनले पूर्वमा फुटबल रंगशाला निर्माण र खेलाडी उत्पादनमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे। खेल क्षेत्रलाई युवाको अवसर र पहिचानसँग जोड्दै उनले यसलाई आर्थिक तथा सामाजिक रूपान्तरणको महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरे।
भिडिओ















Discussion about this post