इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्बासी र विपन्नविरुद्ध बल प्रयोगको नीति नअपनाइने स्पष्ट पारेका छन्। इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गरिबमाथि डोजर चलाउने अभ्यासको आलोचना गरे।
‘डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको झुपडीमा होइन,’ लामिछानेले भने। उनका अनुसार भूमिहीन र सुकुम्बासी समस्याको समाधान बल प्रयोगबाट होइन, नीतिगत र संस्थागत उपायबाट खोजिनुपर्छ।
लामिछानेले सुकुम्बासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न शक्तिशाली आयोग गठन गरिने बताए। देशका विज्ञ र भूमिहीन समुदायका प्रतिनिधिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गरिने उनको प्रतिबद्धता थियो।
भ्रष्टाचारविरुद्ध पार्टी कठोर हुने दोहोर्याउँदै उनले अवैध सम्पत्ति र अनियमिततामाथि कानुनी कारबाही अघि बढाइने बताए। ‘प्रतिशोध होइन, हिसाब हुन्छ,’ उनले भने।
उनले राज्यको शक्ति कमजोरमाथि होइन, अनियमितता र भ्रष्टाचार गर्नेहरूमाथि केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे। रास्वपाले विधिको शासनमार्फत न्यायपूर्ण विकासको मोडेल अघि बढाउने उनको दाबी छ।
देशका विज्ञ र भूमिहीन समुदायको सहभागितामा तयार हुने प्रतिवेदन कार्यान्वयन गर्ने रास्वपाको योजना रहेको उनले बताए। लामिछानेले प्रतिशोधभन्दा विधि र नीतिमा आधारित समाधानमार्फत न्यायपूर्ण विकास अघि बढाइने दाबी गरे।
निर्माण व्यवसायीप्रति लक्षित गर्दै उनले काम कानुनअनुसार हुने स्पष्ट पारे। ‘बाँध्ने भनेको कानुनले हो, डोरीले होइन,’ उनले कांग्रेस सभापति गगन थापातर्फ संकेत गर्दै थपे, ‘बीस वर्ष सांसद–मन्त्री भएपछि बल्ल कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो भने त्यो ज्ञान आफूसँगै राख्नुस्।’
भिडिओ















Discussion about this post