मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक शुक्रबार एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेलको शव सडक किनारबाट भेटिएको हो।
प्रहरीका अनुसार ठडिया चोकबाट करिब ५ सय मिटर पर शुक्रबार बिहान ११ः३० बजेतिर शव देखेपछि स्थानीयले खबर गरेका थिए।
दुवै खुट्टामा गम्भीर चोट लागेको अवस्थामा शव फेला परेको र घटनाको प्रकृति हेर्दा सवारीसाधनको ठक्करबाट मृत्यु भएको प्रारम्भिक आशंका गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए।
परिवारमा एक्लै बस्दै आएका भुजेल प्लास्टिक, बोतल र कागज संकलन गरी कबाडीलाई बेचेर गुजारा चलाउँदै आएका थिए।
व्यस्त राजमार्ग छेउमै अज्ञात सवारीको ठक्करपछि चालक फरार भएको आशंका गरिए पनि दुर्घटना गराउने सवारीसाधनको पहिचान हुन सकेको छैन।
घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाइएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर राजीव गिरी नेतृत्वको टोलीले आसपासका सीसीटीभी फुटेज, सवारी आवतजावत विवरण र स्थानीय साक्षीको बयान संकलन गरी अनुसन्धान तीव्र बनाएको जनाएको छ।













Discussion about this post