इटहरी : कोशी प्रदेशमा बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनको मतदानलाई लक्षित गर्दै सम्पूर्ण प्रशासनिक, प्राविधिक तथा सुरक्षा तयारी पूरा भएको छ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक तथा सहयोगी गरी २५ हजार ७ सय ६४ जना कर्मचारी कार्यक्षेत्रमा खटिएका छन्।
प्रदेशभर १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्र तोकिएका छन्। अस्थायी मतदानका लागि २४ वटा केन्द्र निर्धारण गरिएको छ, जहाँ कारागार, वृद्धाश्रम तथा विशेष सुरक्षा व्यवस्थाभित्र रहेका मतदाताले मतदान गर्न सक्नेछन्।
स्थायी र अस्थायी केन्द्र गरी कुल ४ हजार २ सय ९४ मतदान केन्द्र रहेका छन्।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालका अनुसार अधिकृत र सहायक अधिकृत ८ हजार ५ सय ८८, सहायक कर्मचारी १२ हजार ८ सय ८२ र सहयोगी कर्मचारी ४ हजार २ सय ९४ जना खटाइएको छ।
निर्वाचनसम्बन्धी कामका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत १४–१४ जना तथा सहायक निर्वाचन अधिकृत २८ जना नियुक्त भइसकेका छन्।
निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सुरक्षा निकायले विशेष रणनीति अपनाएको जनाएको छ। प्रदेशका १४ जिल्लामा रहेका २८ निर्वाचन क्षेत्र मा कुल ४ सय ९५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
मतदानस्थलहरूलाई जोखिमका आधारमा वर्गीकरण गरिएको छ। ४ सय ३९ ‘अतिसंवेदनशील’, ८ सय २१ ‘संवेदनशील’, ६ सय ४७ ‘सामान्य’, नेपाली सेनाले १ सय २० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरेको छ।
प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार संयुक्त सुरक्षा गस्ती, चेकजाँच तथा निगरानी व्यवस्था प्रभावकारी बनाइएको छ।
कोशी प्रदेशमा कुल ३५ लाख ७४ हजार ३ सय १० मतदाता रहेका छन्। जसमा १७ लाख ४६ हजार ७३ महिला, १८ लाख २८ हजार २ सय १३ पुरुष र २४ जना अन्य मतदाता छन्।
सबै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार भइसकेका छन्। तारजालीसहित व्यवस्थित र सुरक्षित रूपमा मतगणना स्थल निर्माण गरिएको छ।
सुरक्षा, प्रशासनिक र व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा भएकाले मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन प्रशासनले आग्रह गरेको छ।














Discussion about this post