इटहरी : प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी जिल्लाबाट समानुपातिकतर्फ सबैभन्दा धेरै मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ।
चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा तीन वटा क्षेत्रमा रास्वपाले निर्वाचन जितेको थियो। समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
सुनसरीका चारै निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ रास्वपाले कुल १ लाख ७८ हजार ३ सय ३३ मत प्राप्त गरेको छ । प्रत्यक्ष निर्वाचनमा क्षेत्र नम्बर २, ३ र ४ जितेको रास्वपाले सबै क्षेत्रमा समानुपातिकतर्फ पनि अन्य दलभन्दा उल्लेख्य मत ल्याएको छ ।
सुनसरी क्षेत्र नम्बर १ मा भने रास्वपा पहिलो बन्न सकेन । त्यहाँ प्रत्यक्षतर्फ जित्दै श्रम संस्कृति पार्टीले समानुपातिकमा पनि धेरै मत पाएको छ ।
रास्वपाले क्षेत्र नम्बर १ बाट ३० हजार ३ सय ६९ मत, २ बाट ५७ हजार ५ सय ८१ मत, ३ बाट ४८ हजार ७२ मत र क्षेत्र नम्बर ४ बाट ४२ हजार ३ सय ११ मत प्राप्त गरेको छ ।
सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रत्यक्षतर्फ निर्वाचित भएका छन् ।
प्रत्यक्षतर्फ जित हासिल गरे पनि समानुपातिकतर्फ भने श्रम संस्कृति पार्टी जिल्लामा तेस्रो स्थानमा सीमित भएको छ । सो पार्टीले सुनसरीमा कुल ४५ हजार ६ सय ९४ मत प्राप्त गरेको छ ।
तर, क्षेत्र नम्बर १ मा भने सामुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
श्रसंपाले ३२ हजार २ सय ३० मत पाएको हो । तर अन्य क्षेत्रमा भने मत कम देखिएको छ । क्षेत्र नम्बर २ मा ७ हजार ९ सय ९७, ३ मा २ हजार २ सय ३ र ४ मा ३ हजार २ सय ६४ मत मात्र प्राप्त गरेको छ ।
प्रत्यक्षतर्फ चारै निर्वाचन क्षेत्रमा पराजित भएको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा देखिएको छ ।
कांग्रेसले सुनसरीबाट कुल ५२ हजार ३ सय ८३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कांग्रेसले क्षेत्र नम्बर १ बाट ४ हजार ९ सय ९२ मत, २ बाट १३ हजार ५ सय ६ मत, ३ बाट १७ हजार ४ सय ३ र ४ बाट १६ हजार ४ सय ८२ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ कमजोर देखिए पनि समानुपातिक मतमा भने कांग्रेस दोस्रो स्थानमा उक्लिएको हो ।
नेकपा (एमाले) भने सुनसरीमा समानुपातिकतर्फ चौथो स्थानमा सीमित भएको छ । एमालेले सुनसरीमा कुल ३५ हजार ८ सय ९१ मत प्राप्त गरेको छ ।
क्षेत्र नम्बर १ मा ७ हजार ८७ मत २ मा ८ हजार २ सय ७९ मत, ३ मा १२ हजार ४ सय ५७ मत र क्षेत्र नम्बर ४ मा ८ हजार ६९ मत प्राप्त गरेको हो ।
त्यसैगरी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समानुपातिकतर्फ कुल १० हजार ७९ मत प्राप्त गर्दै पाँचौं स्थानमा पुगेको छ । सो पार्टीले क्षेत्र नम्बर १ मा ३ हजार ९ सय २८, २ मा १ हजार ८ सय ९२, ३ मा १ हजार ५ सय ४५ र क्षेत्र नम्बर ४ मा २ हजार ७ सय १४ मत प्राप्त गरेको हो ।














Discussion about this post