विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
प्रहरी कार्यालयका अनुसार विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
डीएसपी लम्सालले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर–५ जस्तो संवेदनशील क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्दै कुनै अप्रिय घटना हुन नदिई निर्वाचन सम्पन्न गराउन सफल भूमिका खेलेका थिए।
त्यसैगरी, जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार खोजी गर्ने क्रममा कार्यालय नजिकैको झाडीबाट Y13487 नम्बरको मार्क–४ राइफल बरामद गरिएको थियो। साथै विभिन्न स्थानबाट १९ जना प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
फागुन महिनामा दर्ता भएका ३५ मुद्दामध्ये जेनजी आन्दोलनसँग सम्बन्धित १० वटै मुद्दा फर्छ्यौट गरिएको छ।
आन्दोलनका कारण क्षति पुगेको प्रहरी कार्यालयको पुनःनिर्माण, मर्मत तथा आवश्यक सामग्री व्यवस्थापनमा स्थानीय निकाय, संघ–संस्था र सर्वसाधारणसँग समन्वय गर्दै उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
यस्तै, ध्वनि प्रदूषण गर्ने २१७ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरिएको र विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादी पक्राउ गर्न पनि उनले महत्वपूर्ण योगदान पुर्याएका छन्।
समग्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै उनलाई फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो।














Discussion about this post