इटहरी : इटहरी उपमहानगरपालिका–२ होम्सस्थित कोशी लोकमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
इटहरीबाट तरहरातर्फ आउँदै गरेको प्र १–०२–०४७ प ६८६३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ सडक पार गर्दै गरेको प्र १–०२–०४९ प ६३४० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा ६३४० नम्बरको मोटरसाइकल चालक ५२ वर्षीय अमर भुजेल गम्भीर घाइते भएका थिए।
गम्भीर अवस्थामा रहेका भुजेललाई तत्काल प्रहरीले उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्याएको थियो। तर उपचारकै क्रममा साँझ ८ः३५ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, ६८६३ नम्बरको मोटरसाइकल चालक इटहरी २० का १७ वर्षीय स्माइल राई र पछाडि सवार १६ वर्षीय रोहित गिरी घाइते भएका छन्। दुवैको अनुहार तथा मुखमा चोट लागेको छ र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार चालकहरूले सडकमा ध्यान नदिँदा दुर्घटना भएको हुन सक्ने बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
















Discussion about this post