इटहरी : अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत सुनसरी प्रहरीले विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
सुनसरी जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय सुनसरीबाट विभिन्न मितिमा भएका फैसलाअनुसार दोषी ठहर भई फरार रहेका तथा कैद र जरिवाना भुक्तान गर्न बाँकी प्रतिवादीहरूलाई जेठ २० गते जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दाका धरान–१५ निवासी पूर्ण गहतराज विक र रामधुनी–५ निवासी मनिष भट्टराई रहेका छन्। उनीहरूबाट जनही २ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी चोरी मुद्दामा दोषी ठहर भएका देवानगञ्ज–४ निवासी हफ्राज मन्सुरी पक्राउ परेका छन्। उनीबाट १० हजार रुपैयाँ जरिवाना तथा ६३ दिन कैद सजाय भुक्तान हुन बाँकी रहेको छ।
सार्वजनिक अपराध मुद्दामा मोरङको सुन्दरहरैचा–७ निवासी मनोज ऋषिदेव, लागूऔषध मुद्दामा सुन्दरहरैचा–२ निवासी ओमन राई तथा अभद्र व्यवहार मुद्दामा बेलबारी–१ निवासी सुरज गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट क्रमशः १ हजार ५ सय रुपैयाँ, २ हजार रुपैयाँ र १० हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको छ।
प्रहरीले पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा पेश गर्ने जनाएको छ। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियान निरन्तर जारी रहने सुनसरी प्रहरीले जनाएको छ।












Discussion about this post