इटहरी : सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार गेट क्षेत्रमा प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा २०.१७ ग्राम ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रदेश अनुसन्धान टोली तथा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई फरक समयमा लागूऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार प्रदेश १–०२–०४७ प २०३४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक इटहरी उपमहानगरपालिका–४ निवासी ४३ वर्षीय बिशे चौधरी र पछाडि सवार सोही स्थानका ४३ वर्षीय भूपनारायण चौधरीलाई नियन्त्रणमा लिइएको थियो।
जाँचका क्रममा चालक बिशे चौधरीले मलद्वारभित्र लुकाइछिपाइ राखेको अवस्थामा ७.५२ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी को ३० प ४५०९ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक धरान उपमहानगरपालिका–१६ निवासी ३० वर्षीय एलिन जंग राणा र पछाडि सवार धरान–११ निवासी ३१ वर्षीय सन्देश लिम्बू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार लिम्बूले मलद्वारभित्र लुकाइराखेको अवस्थामा १२.६५ ग्राम ब्राउनसुगर बरामद गरिएको छ।
दुवै घटनाबाट बरामद भएको लागूऔषधको कुल परिमाण २०.१७ ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका चारै जनालाई बरामद लागूऔषध तथा दुवै सवारीसाधनसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।













Discussion about this post